
काठमाडौं । भारतले नेपालको अनुमति विना महाकाली नदीमा एकतर्फी रुपमा तटबन्ध बनाउन थालेपछि तनाव सृजना भएको छ ।
दार्चुलामा नेपाली पक्षलाई जानकारी नै नदिएर भारतीय पक्षले नदीको बहाव परिवर्तन हुनेगरी आफूखुशी पक्की तटबन्ध निर्माणको कार्य गरेपछि दुवै पक्षबीच तनाव भएको हो ।
महाकाली नगरपालिका–४ स्थित लास्कु खोला नजिकै भारतीय पक्षले स्काभेटर लगाएर महाकालीको बहाव नेपाल फर्काउन खोज्दा स्थानीयले प्रतिवाद गरेका हुन् ।
मंगलबार भारतीय स्काभेटर बीच नदी हुँदै बहावलाई नेपालतर्फ पल्टाउन खोज्दा दुवै देशका स्थानीयबीच ढुङ्गा हानाहान भएको हो ।
वारिपारिका स्थानीयबीच भएको तनाव प्रशासनिक पहलपछि मत्थर भएको थियो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपाली प्रशासनसँग समन्वय नै नगरी भारतले एकतर्फी एस्काभेटर चलाएर महाकाली नदीको बहाव परिवर्तन गर्न खोज्दा समस्या आएको बताउनुभयो ।
गत माघमा दुवै देशका सीमा अधिकारीबीचको ‘भर्चुअल’ बैठकमा उपाध्यायले तटबन्ध निर्माणको विषय पनि उठाउनुभएको थियो । जवाफमा भारतीय पक्षले नेपाली भू–भागतिर केही असर नगर्ने गरी तटबन्ध निर्माण गर्ने र त्यसको विस्तृत जानकारी दिने प्रतिबद्धता जनाए पनि त्यसो हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्