
कञ्चनपुर । जिल्ला समन्वय समिति महेन्द्रनगरका कार्यालय प्रमुख खेमप्रसाद चौधरीलाई समन्वय समितिका पदाधीकारीहरूले कार्यकक्षमै थुनेका छन् ।
कर्मचारीको तलब तथा जनप्रतिनिधिको सेवासुविधा रोकेको भन्दै बुधबार समितिका पदाधीकारीहरूले प्रमुख चौधरीलाई कार्यकक्षमै थुनेका हुन् ।
तलब तथा सेवासुविधा रोक्नुको कारणबारे जानकारी लिन खोज्दा प्रमुख चौधरीले गैरजिम्मेवार व्यवहार देखाएपछि करिब आधा घण्टा कार्यकक्षमै थुनेको समितिका सदस्यहरूले जानकारी दिए ।
यसअघि बर्दियामा कार्यरत चौधरी गत पुसमा कञ्चनपुर सरुवा हुनुभएको थियो । बर्दिया र सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयमा करिब सात महिना रहेका चौधरीले सो अवधिको रकमसमेत जिल्ला समन्वय समितिले दिनुपर्ने माग राख्दै कर्मचारीको तलब तथा सेवासुविधा रोकेका हुन् ।
यता, कोष तथा लेखा नियन्त्रणको कार्यालयले भने सो अवधिमा चौधरीको हाजिरी तीनदिन मात्रै रहेकाले तलब निकासा नगर्न निर्देशन दिएसँगै समन्वय समितिका पदाधिकारी र कार्यालय प्रमुख चौधरीबीचको विवाद उत्कर्षमा पुगेको छ ।
उता, कार्यालय प्रमुख चौधरीले भने आफूले नियमअनुसार काम गरिरहेको दाबी गर्नुभयो । उहाँले जिल्ला समन्वय प्रमुख फैरु तामाङले आफ्नो काममा हस्तक्षेप गर्ने गरेकाले समस्या उत्पन्न भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्