१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


होटल व्यवसायी पलायन हुँदै


78
Shares

रसुवा । हिमाली जिल्ला रसुवाको पर्यटकीय क्षेत्रहरूमा होटल संञ्चालन गर्ने व्यवसायीहरु पछिल्लो समय पलायन हुन थालेका छन् ।

विशेष गरि भाडामा होटेल लिएर व्यवसाय गरिरहेका व्यवसायीहरू आन्तरिक तथा बाह्य पर्यटक आगमन ठप्प भएसँगै व्यवसायबाट पलायन भएका हुन् ।

रसुवा होटेल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष निशान गजुरेलका अनुसार भूकम्प तथा कोरोना महामारीका कारण होटलको भाडा तिर्न नसकेर जिल्लामा संञ्चालित १५ प्रतिशत होटल व्यवसायी पलायन भएका छन् ।

रसुवाका पर्यटकीय क्षेत्र तथा लाङटाङ राष्ट्रिय निकुञ्जहरूमा करिब तीन सय होटेल संञ्चालनमा रहेकोमा अहिले करिब दुई सय ५० वटा होटेल मात्र सञ्चालनमा रहेका छन् ।

होटल व्यवसायीले २० हजारदेखि एक लाखसम्म मासिक भाडा तिरेर होटल व्यवसाय संञ्चालन गरिरहेका थिए । जिल्लामा संञ्चालित होटलहरुमा २० जनादेखि एक सय ५० जना पर्यटक अट्ने क्षमताका होटलहरु रहेको रसुवा होटेल तथा पर्यटन व्यवसायी संघले जनाएको छ ।

भूकम्प तथा कोरोनाका कारण व्यवसाय धराशायी भएसँगै सदरमुकाम धुन्चे, स्याफ्रु, क्यान्जिङ, थुमन, गतलाङ, टिमुरे, तातोपानीका होटल व्यवसायी अन्य व्यवसायतर्फ लागेका छन् ।