१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्राणायामको फाईदा के छ ?


208
Shares

चन्द्र कटुवाल
प्राणायाम दुई शब्द मिलर बनेको छ प्राण र आयाम । प्राण को अर्थ प्राण वायु अर्थात जसले हाम्रो शरीरलाई शक्ति या बल दिन्छ भने, आयाम को अर्थ प्राणलाई बिभिन्न आयाम अर्थात बिशेष क्रियामा ढाल्नु हो । प्राणायामका अनगिन्ति लाभ छन् । अझ यो कोरोनाको समयमा फोक्सोलाई बलियो पार्न र तनाव कम गर्न निकै महत्वपूर्ण छ । यसका अनेकौ फाईदा छन् ।

प्राणायामको अभ्यासले सप्तधातु (१. रस धातु २. रक्त धातु ३. मांस धातु ४. मेद धातु ५. अस्थि धातु ६. मज्जा धातु र ७. शुक्र धातु) र नाडी लाई सफा गर्दछ । यसले मनको एकाग्रता, शारीरिक, मानसिक तथा आत्ध्यत्मिक स्वस्थताको लाभ हुन्छ भने शास्त्रमा यसको निरन्तर अभ्यासले मृत्य को भय हुदैन, यसको अभ्यासले देवतुल्य बनाउँछ, जिवात्मा वाट शिवात्मा बनाउँछ भनिएको छ ।

प्राणायामले जाडो भएमा शरीर तताउन सक्छ । जस्तै शरीर तताउने प्राणायामहरु जस्तै भस्त्रिका, सूर्य अनुलोमविलोम र शरीरमा अत्यधिक गर्मी भएमा शरीर चिसाउने प्राणायामहरु सित्ली, सित्कारी, सदन्त र चन्द्र अनुलोमविलोम रहेका छन् । पहिलो चरणको प्राणायामले शरीरमा पसिना आउँछ यसलाई निम्न किसिमको प्राणायाम भनिन्छ । दोस्रो चरणको प्राणायामले शरीरमा कम्पन ल्याउछ । प्राणायाम गर्दै जाँदा शरीरमा कम्पन आउछ यसलाई मध्यमखालको प्राणायाम मानिन्छ । साथै तेस्रो चरणको प्राणायामले शरीरलाई हलुका बनाई दिन्छ । शरीरलाई हलुका बनाउनु उच्च किसिमको प्राणायाम मानिन्छ । शास्त्रहरुमा उल्लेख भएअनुसार यस चरणमा मानिसको शरीर हलुका हुँदै जाँदा निरन्तर अभ्यास गर्दै जाँदा मानिस निकै हलुका भएर विभिन्न सिद्धी प्राप्त गर्दछ । यहाँसम्मकी मानिस जमीन छोड्न र जमीन भन्दा माथि उड्न पनि सक्छ भनिएको छ । जे होस प्राणायामको अभ्यासले हामीले अनुभूति गर्न सकिने फाईदाहरु प्राप्त गर्न सकिन्छ ।

प्राणायाम के हो ?

प्राणायाम हाम्रो श्वास प्रश्वास लाई विभिन्न आयाममा ढाल्ने प्रक्रिया हो । अर्थात साधारण श्वास प्रश्वासको गतिलाई कि छिटो कि ढिलो पार्नु नै प्राणायाम हो । यसमा मुख्य गरि तीन चरण हुन्छन । श्वासलाई तान्नु, रोक्नु र फ्याक्नु । प्राणायाम अष्टाङ्ग योग को चौथो चरणमा पर्दछ । प्राणायामको महत्वको बारेमा पतंञ्जली योगसूत्रमा यसरी उल्लेख गरिएको छ – ‘तस्मिन सति श्वासप्रश्वासयोर्गतिविच्छेदःप्राणायाम ।।२ः३४।। अर्थात श्वास प्रश्वासको गति अलग गर्नु नै प्राणायाम हो । यसै गरी हठयोग प्रदिपीकाको दोस्रो उपदेशको पहिलो सूत्रमा भनिएको छ – अथासने दककढे योगी वशी हितमिताशनः । गुरूपदिष्टमार्गेण प्राणामान्समभ्यसेत् ।।१।।’ अथवा गुरुले दिएको निर्देशनानुसार आसनमा बसेर शरीरको लागि चाहिने हितआहार तथा मितआहार गरेर प्राणायामको अभ्यास गर्नु पर्दछ । यसैगरी ‘चले वाते चलं चितं निश्चले निश्चलं भवेत् । योगी स्थाणुत्वमाप्तवोति ततो वायं निरोधयेत् ।।२।।’ अर्थात वायू चल्यो भने चित्त पनि चल्छ । तर वायु रोकियो भने चित्तपनि रोकिन्छ । त्यसैले यसको प्रयोग गर्नाले चित्तमा शान्ति हुन्छ । अर्को महत्वपूर्ण कुरा जुन बेलासम्म शरीरमा वायू स्थिर रहन्छ त्यस बेलासम्म जीवन रहन्छ जब वायू निस्कियो मरण भयो । यसै गरी शरीरभित्रका विभिन्न नाडीहरु प्रदूषित भएमा प्राणवायू माझको नाडीमा पुग्न सक्दैन । त्यसैले प्रदुषित नाडीचक्र जव शुद्ध हुन्छ । तब मात्रै साधक प्राणवायूलाई रोक्न सक्षम हुन्छ ।

प्राणायामले पञ्चक्लेश ( अविद्या, अस्मिता, अहंकार, राग, अभिनिवेश) को निवारण गर्दछ, कुण्डलिनि जागरण तथा चक्र शुद्धि हुन्छ । हाम्रो शरीरमा पाँच वटा प्राण (प्राण, व्यान, सपान, अपान र उदान) र पाँच उपप्राण (नाग, कुर्म, किकर, देवदत्त र धनन्जय) रहेका छन् ।

प्राणायाम गर्नको उद्देश्यहरुमा शरीरमा रहेको प्राणशक्तिलाई उत्प्रेरणा गर्नु, प्राण शक्तिलाई विशेष अभिप्रायले बिशेष क्षेत्रमा संचालित गर्ने, सम्पूर्ण शरीरमा प्रभावित प्राणलाई नियन्त्रण गर्ने रहेका छन् ।

प्राणायाम गर्दा यी कुरामा सावधान रहनुहोस्

प्राणायाम गर्दा पेट खाली हुनुपर्दछ । धेरै खुला ठाँउ हुनुहुँदैन । ताकी धेरै हावा चलेर असर नगरोस । तर झ्याल ढोका भने खुल्ला होस् जसबाट सजिलै हावा ओहोर दोहोर गर्न सकोस् ।

प्राणायाम भरिसक्य आसन गरिसके पछि गर्दा राम्रो मानिन्छ । त्यसैले प्राणायामको लागि सर्वप्रथम आशन सिद्ध हुनुपर्दछ ।
आशन भन्नाले कुनै पनि सजिलो अबस्था हो अर्थात लामो समय सम्म सजिलै बस्नु सक्नु हो । पतञ्जलीले भन्नु भएको छ – स्थिरम सुखम आशनम अर्थात स्थिर रहेर सहज अबस्थामा बस्नु आशन हो । सुखासन अर्थात पलेटि कसेर बस्ने । ध्यान श्वासमा लगाउने अर्थात श्वास आएको र गएकोमा ध्यान लगाउने । प्राणायामको अभ्यास जानिसकेपछि आँखा बन्द गरेर गर्दा अझ बढि लाभकारी मानिन्छ ।

प्राणायाम गर्ने समयमा घाँटी, आँखा, कान वा शरीरको कुनै पनि भागमा दवाब हुनुहुँदैन । श्वासमा ध्यान दिनुको साथसाथै पेटमा पनि ध्यानदिनु पर्दछ । जसमा श्वास लिदा पेट भरिएको र छोड्दा पेट भित्र पसेको हुनु पर्दछ । साथै सुरुमा सामान्य अवस्थाबाट सुरु गर्ने विस्तारै छोड्ने र लिने क्रिया गर्ने र बिस्तारै यो प्रक्रियालाई लम्बाउने । हतारमा नगर्ने । प्राणायाम गर्दा हमेसा नाकबाट श्वास लिनु पर्दछ । तर सित्लि र सित्कारीमा भने मुखबाट श्वासलिनु पर्दछ । यसै गरी सुरुको अबस्थामा श्वासलिने अनुपात १ः२ गर्ने र विस्तारै लिनेभन्दा छोड्ने कार्य दुईगुणा ढिलो गर्ने, तर यसको लागि हतार नगर्ने । योग अभ्यास गरेको अलि पछि मात्र गर्न उपयुक्त हुन्छ । त्यसैले प्राणायामको लागि पनि पूर्व तयारी चाहिन्छ ।