
झापा । त्रिभुवन आर्मी फुटबल क्लब झापा गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ ।
सातदोबाटो युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलको यात्रा तय गरेको हो । आर्मीका लागि सुमन अर्याल, सन्तोष तामाङ र टेकबहादुर बुढाथोकीले गोल गरे । सातदोबाटोले एक गोल मात्र फर्काउन सक्यो ।
खेलको २७औं मिनेटमा सन्तोष तामाङले प्रहार गरेको फ्रि-किकमा सुमनले गोल गरे । पहिलो हाफको थप समयमा सातदोबाटोले गोल फर्कायो । उसका लागि सुशील राईको क्रसमा दिपकराजसिंह ठकुरीले गोल गरे ।
दोस्रो हाफमा आर्मीले ३ गोल थप्यो । ६०औं मिनेटमा आर्मीका सन्तोष तामाङले गोल गर्दै खेललाई २–१ मा पुर्याए । ८०औं मिनेटमा नवयुग श्रेष्ठको हेडरमा टेकबहादुर बुढाथोकीले गोल गर्दै सातदोबाटोसँग फराकिलो अन्तर बनाए ।
८४औं मिनेटमा टेकबहादुरले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे । उनले कमलबहादुर थापाको पासमा गोल गरेका हुन् ।
शुक्रबारको खेलको प्लेयर अफ द म्याच सन्तोष तामाङ तामाङ भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाए ।
शनिबारको अन्तिम सेमिफाइनल खेल झापा–११ फुटबल क्लब र संकटा क्लबबीच हुनेछ । आर्मीले अब शनिबारको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्