
हेटौंडा । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठान नेपाल, मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कारबाट वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जङ्गमलाई प्रदान गरेको छ ।
भीम विरागको १०औं स्मृति दिवसको अवसरमा शनिबार हेटौंडामा प्रतिष्ठानले एक सांगीतिक समारोहका बीच पुरस्कार प्रदान गरेको हो ।
हेटौंडा व्यवसायी/समाजसेवी कृष्ण कन्हैया श्रेष्ठले आफ्नी आमाको नाममा विजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेका हुन् । २०६४ साल देखि प्रतिष्ठानको व्यवस्थापनमा हरेक वर्ष पुरस्कार प्रदान हुँदै आएको छ ।
प्रतिष्ठानका अध्यक्ष हयग्रीव आचार्यको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एल बि क्षेत्रीको प्रमुख अतिथ्यतामा वरिष्ठ संगीतकार जंगमलाई एक लाख नगद सहित दोसल्लाले सम्मानसहित पुरस्कृत गरिएको हो ।
२०१० सालमा भक्तपुरमा जन्मिनुभएका संगीतकार जङ्गमले हालसम्म चार हजार भन्दा बढी गीतमा संगीत भर्नुभएको छ भने दुई सय भन्दा बढी गीतमा आफ्ना स्वर दिनुभएको छ ।
यस्तै, भीमविराग युवा संगीत पुरस्कार २०७८ बाट लोकप्रिय गायक शिव परियारलाई नगद २५ हजार सहित पुरस्कृत गरिएको छ । शिक्षाप्रेमी निरा गोर्खालीले उक्त पुरस्कार सौजन्य गर्नुभएको थियो ।

पुरस्कार प्रदान पश्चात जङ्गम र परियारले आफ्नो सांगीगितक प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा विभिन्न कला, साहित्य, संगीतक्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्