
संखुवासभा । जिल्लाको भोटखोला गाउँपालिका–४ की एक महिलाको २७ रोपनी जग्गा जालसाची गरेको आरोपमा वडाध्यक्षसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विममाया तामाङको जग्गा जालसाजीको आरोपमा भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किङसाङ भोटे, सोही वडाका सुरेन्द्र तामाङ, कल्पना भोटे, ङिमा लाजुङ भोटे, मालपोत कार्यालय खाँदबारीका नायव सुब्बा महेन्द्रकुमार पराजुली, लेखापढी ब्याबसायी अनिस गुरुङ र चैनपुरका ३५ बर्षीय पासाङ शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो । राम्रोसँग कान नसुन्ने, आँखा नदेख्ने निरक्षर वृद्धालाई बृद्धभत्ता कार्ड बनाईदिने भन्दै उनीहरूले जग्गा हत्याएको प्रहरीको दाबी छ ।
आरोपीहरूले फागुन २ गते मालपोत कार्यालय खाँदबारीमा स्व.दलबहादुर तामाङको नाममा रहेको ६ कित्ता जग्गा विममायाको नाममा नामसारी गरि सोही दिन नामसारी गरिएका जग्गा मध्ये कित्ता नं. २८० को जग्गा वडाध्यक्ष भोटेको तर्फबाट कल्पना भोटे र सुरेन्द्र तामाङको तर्फबाट आफ्नै श्रीमती ङिमालाजुङ भोटेको नाममा संयुक्त रुपमा रजिष्ट्रेसन पास गरेका थिए ।
त्यस्तै, कित्ता नम्बर २७५ को जग्गा पासाङ शेर्पाको नाममा रजिष्ट्रेसन पास गरेका थिए । उक्त जग्गा एकलाख रुपैयाँ दिएर पास गरेको भनिए पनि वृद्धा तामाङलाई बृद्ध भत्ता बापत भनेर २० हजार रुपैयाँ दिएको रहस्य खुलेको छ ।
जग्गा पास गर्न जनप्रतिनिधि देखि कर्मचारीहरू समेतको मिलेमतो देखिएको प्रहरीको भनाइ छ । पक्राउ परेका भोटे नेकपा एमालेवाट निर्वाचित वडाध्यक्ष हुन् ।
प्रतिक्रिया दिनुहोस्