
काठमाडौं । नेपाली कांग्रेसले आइतबारदेखि देशैभर स्थानीय तह केन्द्रीत चुनावी एक महिने घरदैलो अभियान सुरु गरेको छ । ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ नारासहित चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमा कांग्रेसका नेता तथा कार्यकर्ता जनताका घरदैलो पुग्ने छन् । यो अभियानले कार्यकर्तामा जागरण आउनको साथै आम मतादताको भावना बुझ्न र कांग्रेप्रतिको धारणामा परिर्वतन ल्याउन सकिने कांग्रेसको दाबी छ ।
२०७४ सालको चुनावमा नराम्ररी पछारिएको कांग्रेस यसपटक तंँग्रिने प्रयासमा छ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन लक्षित एक महिने अभियानमा कांग्रेसले ८ वटा घोषित उद्देश्य राखेको छ । जसअन्तर्गत निर्वाचनका लागि माहोल बनाउने, कांग्रेस जिताउन अपील गर्ने, वर्तमान सरकारले गरेका राम्रा कामहरुको प्रचार गर्ने र नेकपा नेतृत्वको अघिल्लो सरकारका गलत कामको भण्डाफोर गर्ने रहेका छन् ।
एमसीसीबारे विपक्षीले छरेका भ्रमको चिरफार कांग्रेसले मुख्य उद्देश्य राखेको छ । कांग्रेस र कम्युनिष्ट पार्टीबीचको भिन्नता आमनागरिकलाई बुझाउन अभियानले भूमिका निर्वाह गर्ने महामन्त्री विश्वप्रकाश शर्माले जनतासम्म हाम्रो आग्रह तपाईले कांग्रेसलाई जिम्मा लगाउने र कांग्रेसले हामीलाई जिम्मा लगाउने भन्दा सिधै नेपाली कांग्रेस पार्टीलाई जिम्मा लगाउन अनुरोध गर्नुभएको छ । त्यस्तै जनतालाई वितेका ५ वर्षको समिक्षा गर्न आग्रह गर्नुभयो ।
गत मंसिरमा १४ औं महाधिवेशन गरेयता कांग्रेसले संगठन विस्तार र चुनाव केन्द्रीत कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । महाधिवेशनको क्रममा तल्लो तहसम्म देखिएको विभाजनको मानसिकता अन्त्य पनि अभियानको उद्देश्यमा राखिएको छ । कांग्रेसलाई आगामी चुनावमा विजयी गराउन वडा र टोल तहसम्म पुगेर संगठन सुदृढ गर्ने जिम्मेवारी केन्द्रीय प्रतिनिधिलाई दिइएको छ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले यो जनताको घरघरमा पुग्ने र उनीहरुका कुरा सुन्ने अभियान भएको बताउनुहुन्छ ।
अभियानका क्रममा पार्टीको टोल समिति गठनलाई तीव्रता दिने छ । कांग्रेसप्रति जनताको अपेक्षा बुझ्न टोल—टोलमा अन्तरक्रिया कार्यक्रम गर्ने बताइएको छ । अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरु सम्बन्धित जिल्लाको सबै पालिकामा पुगेर कार्यक्रम सञ्चालन र अनुगमन गर्ने छन् । अभियानपश्चात प्रतिनिधिहरुले केन्द्रमा प्रतिवेदन बुझाउनुपर्ने छ । कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा हरेक बुथमा सय युवा खटाउने घोषणा गरेको छ । अभियानले पार्टीबारे जनतामा रहेका भ्रमको निवारण र सत्यको उजागर गर्ने अपेक्षा कांग्रेसको छ ।
प्रतिक्रिया दिनुहोस्