१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


आफ्नै अपहरणको नाटक, बाबुसँग ३० लाख फिरौती माग्ने पक्राउ


0
Shares

विराटनगर, फागुन २८ । मोरङमा आफ्नै अपहरणको नाटक गरेर बुबासँग फिरौती माग्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बुढीगंगा गाउँपालिलका–३ बासबारीका २४ वर्षका मुकेशनारायण महतोले बाबु शिवनारायणसँग आफू अपहरणमा परेको भन्दै ३० लाख रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ ।

प्रहरीले मुकेशका बाबुले फिरौतीका लागि भन्दै बुझाएको २१ लाखमध्ये १९ लाख ५३ हजारसमेत बरामद गरेको छ ।

मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार मुकेशले यही फागुन २३ गते बुबालाई फोन गरेर आफू अपहरणमा परेको र अपहरणकारीले ३० लाख मागेको बताएका थिए ।

सुरुमा अपहरणकारीले लाहानमा राखेको बताएका उनले त्यसपछि जनकपुर र कोशी ब्यारेजमा पुर्‍याएको जानकारी गराएका थिए ।

फागुन २६ गते शिवनारायणले फिरौती रकमबापत २१ लाख रुपैयाँ तिरेका थिए । त्यसै दिन प्रहरीले अपहरणको नाटक गर्ने मुकेशलाई साँझ ५ बजे सुनसरीको भण्टाबारीबाट पक्राउ गरेको थियो ।

डीएसपी राईका अनुसार प्रहरीले फिरौतीको रकमसहित बुढिगंगा ३ का कृष्ण राजवंशीलाई पनि पक्राउ गरेको छ । फिरौती लिएको रकममध्ये करिब डेढ लाख उनीहरुले खर्च गरेको र बाँकी बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मुकेशले एक वर्षअगाडि सापटी लिएको ५ लाख रुपैयाँ मिटर ब्याजका कारण ९६ लाख पुगेको र उक्त रकम नतिरे ज्यान मार्ने धम्की दिएकाले अपहरणको नाटक गरेर रकम उठाएको बताएका छन् ।