१४ बैशाख २०८२, आइतबार | Sun Apr 27 2025


आधुनिक एकीकृत फलफूल तथा तरकारी बजार अझै सञ्चालनमा आएन


0
Shares

ध्रुव भट्टराई (इमेज)

विराटनगर, फागुन २९ । मोरङको कटहरी गाउँपालिकामा निर्मित आधुनिक एकीकृत फलफूल तथा थोक तरकारी बजार अझै सञ्चालनमा आउन सकेको छैन ।

विराटनगरको मुख्य बजारमा रहेको तरकारी बजार स्थानान्तरण गर्ने उद्देश्यले निर्माण गरिएको उक्त बजारमा जान व्यापारीहरुले अटेर गरेपछि प्रयोगहीन अवस्थामा पुगेको हो ।

विराटनगर महानगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेको गुद्री बजार खाली गराउने उद्देश्यले कटहरी गाउँपालिकामा आधुनिक एकीकृत फलफूल तथा थोक तरकारी पसल निर्माण गरिएको थियो ।

संघीय सरकारले करिब १७ करोड रुपैयाँको लगानीमा निर्माण गरेको उक्त कृषि बजार एक वर्षअघि नै प्रदेश सरकारलाई हस्तान्तरण गरिए पनि अझै सञ्चालन हुन सकेको छैन ।

विराटनगर महानगरपालिकासँगै जोडिएको उक्त बजार सञ्चालनका लागि दुईपटकसम्म सूचना आह्वान गर्दा पनि व्यापारी नआएपछि करोडौँको संरचना प्रयोगहीन बनेको हो । मन्त्रालयले विराटनगरको गुद्री बजारका तरकारी व्यापारीहरुका लागि ८० प्रतिशत स्थान उपलब्ध गराउने गरी सुचना आह्वान गरेको थियो ।

गुद्रीका व्यापारी नआए अन्यलाई खुल्ला गरेर भए पनि बजार संचालनमा ल्याउने मन्त्रालयले जनाएको छ । गुद्रीका केहि व्यापारीहरुले भने सरकारले निर्माण गरेको उक्त कृषि बजार टाढा भएको भन्दै विराटनगरमै बजार निर्माण गरिरहेका छन् ।

सरकारले बनाएको संरचनामा नजाने भन्दै व्यापारीहरुले व्यक्तिको जग्गा भाडामा लिएर आफै बजार बनाउन थालेका हुन् । तरकारी व्यापारी गुद्रीका व्यापारीले जान अटेरी गरेपछि अन्य व्यवसायीलाई समेत खुल्ला गर्ने मन्त्रालयको तयारी छ ।