
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौं संस्करणको मेयरकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि दनपा–५ दशरथचन्द र दनपा–४ खलंगा भिड्ने भएका छन् ।
मंगलबार भएको दोस्रो सेमिफाइनल खेलमा दनपा–६ थालिगडालाई ४ विकेटले स्तब्ध पार्दै दशरथचन्दले खलंगासँगको भेट पक्का गरेको हो । खलंगा गत संस्करणको च्याम्पियन टोली हो भने दशरथचन्द उपविजेता भएको थियो ।
थालिगडाले दिएको १ सय ३४ रनको लक्ष्य दशरथचन्दले १६.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । जसमा सुदीप टमटाले ३३ र जगदीश चन्दले नटआउट २६ रनको योगदान गरे । थालिगडाका सौरभ चन्दले २ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गरेको थालिगडा १६.१ ओभरमा १ सय ३३ रनमा समेटियो । कल्पेस चन्दको ३७ र मनोज ऐरीले ३६ रनको योगदान गरे पनि अन्य ब्याट्सम्यान नचल्दा थालिगडाको फाइनल खेल्ने सपना अधुरै रहेको हो ।
थालिगडाको पारी ध्वस्त पार्ने क्रममा दशरथचन्दका रोबिन चन्द एक्लैले ५ विकेट झारे । उनी खेलका म्यान अफ द म्याच समेत चुनिए ।
यसअघि आजै भएको पहिलो सेमिफाइनलमा दनपा १० बाराकोटलाई ५ विकेटले हराएको थियो । उपाधि भिडन्त बुधबार हुने दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले बताए ।
उपाधि विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी,मेडल र प्रमाणपत्र पाउने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले बताए ।
दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा फागुन २५ देखि सञ्चालन भएको प्रतियोगितामा ११ टोली सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्