
काठमाडौं । कृषि पेशाबाट पलायन भएका बाँकेका किसानहरू स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएपछि पुनः कृषि पेशामा फर्केका छन् ।
बाँकेको राप्ती सोनारी गाँउपालिका–७, फत्तेपुरका किसानहरू पुरानो प्रविधिबाट खेतीगर्दा उत्पादनमा कमी भएपछि मजदुरी पेशामा लागेका थिए । तर, कृषि ज्ञान केन्द्र बाँकेमार्फत् स्र्माट कृषि गाउँ कार्यक्रम लागू भएपछि किसान कृषि पेशामा फर्किएका हुन् ।
राप्ती सोनारी गाउँपालिका कृषकहरुको बाहुल्य भएको क्षेत्र हो । तर, पुरानै प्रविधि अपनाएर कृषि गर्दा उत्पादनमा कमी आएको थियो । लगानी र मेहनत बढी तर उत्पादन कम हुँदा किसानहरू कृषि पेशाबाट पलायन भई दैनिक ज्यालादारी मजदुरीमा लागेका थिए ।
सरकारले २०७५ सालदेखि बाँके जिल्लामा कृषि ज्ञान केन्द्रमार्फत् स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन गरेपछि यहाँका किसानहरू उत्पादन देखेर पुनः कृषि पेशामा फर्केका छन् । कृषि ज्ञान केन्द्रले उत्पादन बढाउन मल, विउ र औजारहरूमा अनुदान दिन थालेपछि थप हौसला मिलेको फत्तेपुरका किसान चक्रबहादुर थारु बताउनुहुन्छ ।
वर्षामा धान, हिउँदेमा आलु मात्रै उत्पादन गरिरहेका किसानहरू २०७५ सालदेखि बाह्रै महिना खेती गरिरहेका छन । स्मार्ट कृषि गाउ कार्यक्रम लागू भएपछि अहिले १ सय ७ घर धुरीले सिजनअनुसार खेती गरिरहेका छन् ।
स्मार्ट कृषि गाउँ कार्यक्रम लागू भएदेखि फत्तेपुरका किसानहरू पूर्ण रूपमा कृषिमा आबद्ध भएको केन्द्रका अधिकृत दिनेश भट्टराई बताउनुहुन्छ । बाँकेको सोनारी गाउँपालिकाकी कृषि प्राविधिक सुमित्रा चौधरी पनि प्रविधिको प्रयोगसँग उत्पादनमा वृद्धि भएको दाबी गर्नुहुन्छ ।
विदेश पलायन हुन लागेका युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर दिई आत्मनिर्भर बनाउन कृषि क्षेत्र भरपर्दो माध्यम बन्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्