
काठमाडौं । नेकपा (एमाले)ले आगामी निर्वाचन लक्षित मधेश प्रदेशमा आक्रामक चुनावी अभियान चलाएको छ ।
पछिल्ला दिनहरूमा पार्टी अध्यक्ष केपी शर्मा ओली मधेश मिसनसहित मधेश प्रदेशको दौडाहा गरिरहनुभएको छ । एमालेले मधेश प्रदेशका विभिन्न जिल्लाबाट अन्य पार्टीका प्रभावशाली नेता तथा जनप्रतिनिधिहरूलाई एमाले प्रवेश गराउने अभियान सञ्चालन गरिरहेको छ ।
संविधानसभाबाट जारी भएको संविधान र नाकाबन्दीका बेला मधेशवादी दल र उनीहरूको आन्दोलनविरुद्ध दिएको अभिव्यक्तिका कारण एमाले अध्यक्ष केपी शर्मा ओली मधेश प्रदेशमा निकै अलोकप्रिय बन्नुभएको थियो । त्यति बेला आन्दोलनको तारो अध्यक्ष ओली र एमाले बन्यो ।
संविधान जारी भएपछि एमालेले देशव्यापी रूपमा सुरु गरेको मेची महाकाली अभियानको अवरोध मधेश प्रदेशमै भएको थियो । परिणामस्वरूप २०७४ को स्थानीय तहको चुनावमा देशभरी एमालेको पक्षमा लहर चल्दा मधेश प्रदेशमा भने पाँचौ दल बन्न पुग्यो । सोही वर्ष सम्पन्न संघीय र प्रदेशसभा चुनावमा पनि एमालेको हालत उही देखियो ।
एमाले र माओवादी केन्द्रको गठबन्धनले केन्द्रमा करिब २ तिहाई र ६ वटा प्रदेशमा स्पष्ट जीत हासिल गर्दा मधेश प्रदेशमा ३२ वटा संघीय निर्वाचन क्षेत्रमध्ये एमालेले २ वटामा मात्र जित्नसक्यो । त्यसै पनि मधेशमा कमजोर जनाधार रहेको एमाले गत वर्ष फागुनमा नेकपा र भदौमा एमाले विभाजन भएपछि थप कमजोर बन्नपुगेको छ ।
मधेश प्रदेशमा २१ जना सांसद मध्ये १३ जना एकीकृत समाजवादी पार्टी र ८ जना मात्र एमालेमा रहेका छन् । मधेश प्रदेशमा पार्टीको खराब अवस्थालाई आगामी निर्वाचनमा पुनरावृत्ति हुन नदिन एमालेले मधेश मिसन सुरु गरेको हो । मधेसमा अन्य दलका नेता तथा कार्यकर्ताहरूलाई भित्र्याएर आगामी तीनै तहको चुनाव जित्ने एमालेको रणनीति छ ।
अध्यक्ष ओलीले गत शनिबारमात्रै वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगीसहित तीन वडाध्यक्षलाई पार्टी प्रवेश गराउनुभयो । पाँचवर्षअघि भएको स्थानीय तह निर्वाचनमा सरावगीका निकटतम प्रतिद्वन्द्वी राजेशमान सिंहलाई गत पुसमा नै एमालेले भित्राएको थियो ।
यस्तै, जगनाथपुरका मेयर जालिम मियाँ, आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारी, रंगेली नगरपालिका मेयर दिलिप बगडिया तथा उप मेयर केशवकुमारी खराल लगायतका जनप्रतिनिधिलाई एमालेले भित्राएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशमा एमालेले तुफान सिर्जना गरेको दावी गर्नुभएको छ ।
मधेश प्रदेशका जिल्लाहरूमा पनि पूर्वपश्चिम राजमार्ग क्षेत्रमा एमालेको केही प्रभाव रहेपनि हुलाकी राजमार्ग क्षेत्रमा भने एमाले निकै कमजोर छ । कमजोर क्षेत्रलाई बलियो बनाउने रणनीति अन्तर्गत नै एमालेले पछिल्ला दिनहरूमा जनाधार र स्रोत जुटाउन सक्ने अन्य पार्टीका नेता तथा जनप्रतिनिधिहरूलाई लक्षित गर्दै मधेशमा शक्ति विस्तार गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्