
चितवन । पुस्तकालयको माध्यमबाट हिँसा, बलात्कार र अपराध निराकरण गर्न किशोरीहरुले पहल थालेका छन् । पर्याप्त शिक्षाको अभाव, अवसरबाट बन्चित हुनुपरेको पीडालाई भुलाउँदै केही किशोरीहरु नेतृत्वदायी भूमिकामा सक्रिय छन् ।
आफ्नो समुदायमा भएको समस्या पहिचान गरी त्यसको समाधानका लागि गर्नुपर्ने कार्यक्रम सहित कैलाली जिल्ला भजनी गाउँपालिकाकी सम्झना विश्वकर्मा चितवनको सौराहामा आउनुभएको हो । बालविहाह, छाउपडी प्रथा लगायतका समस्या निराकरणमा उहाँ सक्रिय भएर लाग्नुभएको छ ।
उहाँ जस्तै रिड नेपालको कार्यक्रम ट्याग मार्फत ६ जिल्ला चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, बर्दीया र कैलालीका २५ जना किशोरीहरु अहिले पुस्तकालयको माध्यमबाट समाजका समस्या हटाउँदै परिवर्तन गराउन सक्रिय छन् । पुस्तकालय पुस्तकहरुको मात्रै थलो हो भन्ने सोचलाई परिवर्तन गराई समाजका समस्या समाधानको माध्यमको रुपमा यसलाई बदलिएको रिड नेपालको भनाई छ ।
सुरुमा ५ सय किशोरीलाई प्रारम्भिक चरणको प्रविधि सम्वन्धि तालिम, त्यसबाट २७० छनौट गरेर समुदायको समस्या पहिचान र अवसरको खोजी गर्न सिकाउदै अन्तिममा २५ जना छनौट भएका हुन् । अहिले उनीहरु पुस्तकालयको माध्यमबाट समाजमा रहेका समस्या पहिचान गरेर सरोकारवाहरुसँग छलफल गरी कार्यक्रम गर्न सक्ने भएका हुन् ।
बालवालिका र किशोर किशोरीहरुको मुद्दा स्थपित गराउन अबको स्थानीय निर्वाचनमा प्रतिनिधिकै रुपमा किशोर किशोरी उम्मेदवार उठाउनुपर्नेमा जोड छ रत्ननगर ५ का वडाअध्यक्ष कृष्ण महतोको । उमेरलाई नभई सोचलाई परिपक्वता मान्न उहाँको सुझाव छ ।
किशोरीहरुलाई अझैपनि कमजोर ठान्ने समाज छ । परिवर्तन हुँदै गएपनि पूर्णपरिवर्तन भएको छैन् । तर यसरी हुने कार्यक्रमबाट उनीहरु सक्षम र आफूलाई समाजमा स्थपित गराउन सकिरहेका हुन् ।
प्रतिक्रिया दिनुहोस्