१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दुई वर्षपछिको होली, सभ्य र भव्य


182
Shares

काठमाडौं । हुलहुज्जत गरेर होली मनाउने परम्परा विस्तारै अन्त्य हुँदै गएको छ । अपवाद छोडेर रंग खेल्ने शैलीमा पनि परिवर्तन आएको महसूस गरिएको छ । केही वर्षअघिसम्म काममा हिँडेकाहरु त्यसमाथि महिलामाथि लोला र रंगले भद्दा आक्रमण हुने गरेकोमा यो वर्ष त्यस्तो देखिएन ।

कोभिडको संक्रमणबाट राहत पाएसँगै यस वर्ष होली मनाउनेहरुमा थप उत्साह देखियो । दुई वर्षदेखि खोसिएको खुसी यो वर्ष आमनागरिकले होलीमा खुसीसाथ साटासाट गरेका छन् । होली मनाउने क्रममा अघिल्ला वर्षहरुमा सडकमा देखिने भद्दा शैली यो वर्ष देखिएन । मादक पदार्थ सेवन गरेर हुलहुज्जत गर्नेको संख्या शून्यमै झरेको देखियो । घरको छतमा बसेर लोला हान्ने, रंग खेल्न नचाहनेलाई जबर्जस्त गर्नेहरुको प्रभाव घटेको पाइयो । जसका कारण सडकमा हिँडेका कामकाजीले पनि राहत महसुस गरेका थिए ।

कतिपय ठाउँमा मन मिल्नेहरु हार्दिकतापूर्वक रंग खेलिरहेका भेटिए । सरकारी विदाका कारण काठमाडौंका सडकमा यातायातका साधन पातलो चलेका थिए । काठमाडौंका प्रमुख सार्वजनिक स्थलमा स्वतस्फूर्त भेला भएका नागरिकले रमाइलो गरी होली पर्व मनाएका थिए । प्रहरीको सुरक्षाका कारण होली मर्यादित भएको तर्क राख्ने पनि भेटिए ।