१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पाल्पाको रामपुर अस्पतालमा स्वास्थ्य सेवा प्रभावित


91
Shares

पाल्पा । पाल्पाको रामपुर अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नहुँदा स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ ।

११ जना विशेषज्ञ डाक्टरसहितको दरबन्दी रहेको ५० सैयाको अस्पतालमा बिशेषज्ञ डाक्टर नहुँदा उपचारका लागि अन्यन्त्र जानु पर्ने बाध्यता छ ।

कम खर्चमा प्रभावकारी उपचार सेवा उपलब्ध गराउने उद्देश्यले प्रसुती, बालरोग, रेडियोलोजिष्ट, जनरल फिजिसियन, अर्थोसर्जनलगायत ११ औं तहको जनरल मेसु लगायतका डाक्टरको दरबन्दी अहिले सम्म कागजमा मात्र सीमित भएको छ ।

रामपुर अस्पतालमा ७२ जना दरवन्दी भएपनि हाल ९ जना अस्थायी करारका कर्मचारीले अस्पताल सञ्चालन गरीरहेका छन् । दरबन्दी अनुसारको चिकित्सक उपलब्ध हुन नसक्दा समस्या परेको अस्पतालका प्रशाशन प्रमुख हिरा बिश्वकर्माले बताउनुभयो ।

अस्पतालमा बिशेषज्ञ डाक्टर नहँुदा गम्भिर प्रकृतिका बिरामीहरु थप उपचारका लागि अन्यन्त्र जानुपर्दा समस्या हुने गरेको स्थानीय मथुरा रेग्मीले बताउनुभयो ।

सरकारले स्वास्थ्य सेवालाई आधारभूत सेवाभित्र परिभाषित गरेपनि अस्पतालमा डाक्टर नै उपलब्ध हुन नसक्दा यस क्षेत्रका हजारौं जनता स्वास्थ्य सेवा उपभोग गर्नबाट वञ्चित भएको स्थानीय शिक्षाविद् सुन्दर प्रसाद देवकोटा बताउनुभयो ।

अस्पतालमा दरवन्दी अनुसार चिकित्सक नहुँदा पूर्वी पाल्पाका बिरामीहरु काठमाडौं, पोखरा, बुटवल, तानसेनका निजी स्वास्थ्य संस्थामा धाउन बाध्य भएका छन् । दरबन्दी स्वीकृत गर्ने सरकारले अहिलेसम्म स्वीकृत दरबन्दी अनुरुप डाक्टर उपलब्ध गराउन नसक्दा स्थानीयको स्वास्थ्य उपचारमा समस्यासँगै निजी स्वास्थ्य संस्थाले मौकाको फाईदा उठाएका छन् ।