
काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा चुनाव केन्द्रीत गतिविधि तिव्र बनाएका राजनीतिक दलहरु चुनाव लक्षित कार्यक्रमसहित गाउँगाउँ पसेका छन् । एकतातिर दलहरु चुनाव जित्न जनता रिझाउन व्यस्त छन् भने अर्कोतिर चुनावी तालमेल बनाउन कसरत गरिरहेका छन् । चुनावी तालमेलबारे अहिले नै स्पष्ट तस्बीर आईनसकेपनि वर्तमान सत्तागठबन्धनको निरन्तरता वा पुनःबाम तालमेलका विषयमा अनेक अडकलबाजी चलिरहेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएपनि सफल हुन सकेन । स्थानीय तह निर्वाचनपछि भएको संघीय र प्रदेश तह निर्वाचनमा मुलुकका दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्रबीच भएको चुनावी तालमेल सफलभयो । दुई दलको गठबन्धनले संघीय संसदमा झण्डै दुईतिहाई बहुमत ल्याउनुका साथै सात प्रदेशमध्ये ६ वटा प्रदेशमा सुविधाजनक बहुमतसहित सरकार बनायो ।
चुनावी तालमेल सफल भएसंगै दुईदलबीच पार्टी एकता भएर नेकपा बनेपनि संसद विघटनपछि उत्पन्न राजनीतिक परिस्थितले गत फागुनमा नेकपा भंग भयो । यसकै असरले गत भदौमा एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी गठन भयो । संसद विघटनपछि उत्पन्न राजनीतिक उतारचढाव जारी रहँदा सरकारले आगामी बैशाख ३० गते तय गरेको स्थानीय तहको मिति नजिकिँदै गर्दा पुनःवाम एकताको बहस सुरु भएको छ । सत्तारुढ गठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचनमा एमालेसंग तालमेल हुनसक्ने संकेत गर्नुभएको छ ।
अध्यक्ष दाहालको अभिव्यक्तिप्रति नेकपा एमालेका नेताहरुको प्रतिक्रिया भने सकारात्मक नभएपनि बाम तालमेलबारे छलफल सुरु भएको भने संकेत गरेको छ । बाम तालेमलको विषयमा माओवादी केन्द्रका अध्यक्ष दाहालले चासो दिईराख्दा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने तालमेलको बहस अनावश्यक भएको टिप्पणी गर्नुभएको छ ।
बाम दलका शीर्ष नेताहरुका परस्परविरोधी अभिव्यक्तिले तत्काल बाम एकता हुने सम्भावना देखिँदैन । दुबै दलका कतिपय नेताहरु आगामी निर्वाचनमा बाम तालमेलको सम्भावना देख्छन् । गाली गर्दागर्दै हिजोको समयमा मिलेका छन् त्यसैले आगामी दिनमा मिल्न पनि सक्ने एमाले नेता घनश्याम भुसाल बताउनुहुन्छ ।
गत चुनावमा पनि नदीका दुई किनारा जस्तै रहेका एमाले र माओवादी केन्द्रबीच आरोप प्रत्यारोप, आलोचनाकैबीच चुनावी तालमेल र पार्टी एकता भएको थियो । विगतका राजनीतिक घटनाक्रमलाई हेर्दा आगामी दिनमा पनि एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच राजनीतिक स्वार्थ मिले जुनसुकै बेलापनि बाम एकता हुने राजनीतिक क्षेत्रका जानकारहरुको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्