१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


प्रधानमन्त्रीको सक्रियता, राष्ट्रिय महत्वका विषयहरुले निकास पाउने अपेक्षा


0
Shares

रोमन आचार्य र सुयेश मानन्धर (ईमेज)

काठमाडौं, चैत २ । मिर्गौला प्रत्यारोपणपछि तङ्ग्रिदै गरेका प्रधानमन्त्री केपी शर्मा ओली नियमित काममा फर्कने कोशिसमा छन् ।

प्रधानमन्त्री ओलीले राजनीतिक भेटघाट शुरु गरिसकेको भएकाले थाँती रहेका थुप्रै राष्ट्रिय महत्वका विषयहरुले पनि निकास पाउने अपेक्षा गर्न थालिएको छ ।

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जानु अघि नेकपाभित्रको राजनीतिक दाउपेच चरम विन्दूमा पुगेको थियो ।

खाशगरी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयले नेकपा भित्र बबण्डर खडा गरेको थियो र सो विषय अहिले पनि उत्तिकै जटिल छ ।

नेकपा सचिवालय वैठकले नेता गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गर्दागर्दै पनि प्रधानमन्त्री ओलीले पदावधि सकिएका डा युवराज खतिवडालाई नै अर्थमन्त्री बनाउने निर्णय गर्दै अस्पताल छिरेका थिए ।

अब यो विषयमा प्रधानमन्त्री ओली कसरी प्रस्तुत छन् भन्ने चासोको विषय बनेको छ । प्रधानमन्त्री ओलीका सामु अर्को उत्तिकै महत्वपूर्ण र जटिल विषय रहेको छ, एमसीसी परियोजना सम्झौताको संसदबाट अनुमोदन ।

चालु हिउँदे अधिवेसनबाटै एमसीसी परियोजना पास गराउने अडानमा रहनु भएका प्रधानमन्त्री ओलीलाई पार्टी भित्रकै अर्को पक्षले कत्तिको सहयोग गर्छ वा एमसीसी पनि बार्गेनिङको विषय बन्छ भन्ने अन्यौल छ ।

अस्पताल भर्ना हुँदा समेत कार्यवाहक कसैलाई नदिनु भएकाले उनको भूमिकाको विशेष चर्चा नेकपाभित्रै भईरहेको छ ।

९ सदस्यीय नेकपा सचिवालयमा कमजोर अवस्थामा परेकाले केही महत्वपूर्ण विषयहरुमा सम्झौता गर्न बाध्य हुनु भएका प्रधानमन्त्री ओलीले अब सचिवालयको बहुमत पक्षलाई अब कसरी सामाना गर्लान ?

भन्ने कौतुहल पार्टी भित्र र बाहिर उत्तिकै छ । त्यसो त केन्द्रिय कार्यसमितिको बैठकले पार्टी एकताका थाति रहेका विषयमा १५ दिनभित्र सक्ने भनेका काम पनि हुन सकेका छैनन् ।

सचिवालयको बहुमतको बलामा बनेको एमसीसी कार्यदलको प्रतिवेदन ओलीले मान्नुहुन्छ वा नयाँ ढंगबाट अघि बढ्नुहुन्छ भन्ने अर्को जिज्ञासा छ ।

वामदेव वा खतिवडाको प्रश्नले सचिवालय र सिङ्गो पार्टी पंक्तिमा ओलीको आगामी योजना के होला भन्ने जटिल प्रश्न छ । बामदेव गौतम प्रकरण र एमसीसी प्रकरणले सत्तारुढ नेकपा विघटनसम्मको चर्चा हुने गरेको छ ।

यस्ता आशंकाहरुलाई चिर्ने र राष्ट्रिय राजनीतिमा तरंग ल्याएका विषयहरुको सम्बोधन गर्नु प्रधानमन्त्री ओलीका लागि चुनौतीपुर्ण छ ।