१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


फुटपाथ नै दुर्घटनाको कारक


208
Shares

काठमाडौं । जनप्रतिनिधिहरुले कार्यकालको उत्तराद्र्धमा जनताका अधिकांश माग पूरा गरेको दाबी गरिरहँदा काठमाडौंका फुटपाथ अस्तित्वको संकटमा छन् । विकास र विनासको दोसाँधमा रहेका फुटपाथ दुर्घटनाको कारण बन्ने भएकाले गाडी गुड्ने सडकबाटै बाटो पार गर्न पैदलयात्री बाध्य छन् । अचम्म त के छ भने फुटपाथ धराप बनेको अवस्थाले कसैलाई घोचेको, पोलेको छैन ।

काठमाडौं उपत्यकामा ४० लाख मानिसको बसोबास रहेको मानिन्छ । १० लाखसँग आफ्नो सवारी साधन छ । तर तीस लाख नागरिकले उपभोग गर्ने सडकपेटी सुरक्षित नहुँदा पैदलयात्रीले हुनसम्मको हैरानी पाएका छन् । पैदलयात्रीका लागि भनेर फुटपाथमा सिमेन्टका ब्लक वर्षैपिच्छे फेरिन्छन् । टेलिफोन, बिजुलीका पोल मात्र हैन, पार्किङको ठूलो हिस्सा त्यही फुटपाथले बेहोर्नुपर्छ । आफूलाई वातावरणमैत्री देखाउन महानगरले बोटविरुवा त्यहीँ टाँस्छ । हुर्काउन नभएर औपचारिकताका लागि रोपिएका विरुवाको अवस्था झन् दयनीय लाग्छ । अझ विद्युत प्राधिकरणले जताततै तार भूमिगत गर्ने अभियान थालेपछि त फुटपाथ थप भद्रगोल भएको छ ।

पैदलयात्री हिँड्ने ठाउँमा बडेमाका बाकस राखिएका छन् । फुटपाथ पाँच फिटभन्दा कम हुन नहुने नियम भएपनि त्यसको नियम कतै पालन भएको छैन । पैदलयात्री फुटपाथ नहुँदा दुर्घटनाको जोखिम बढेको गुनासो गर्छन ।

न मुख्य सडकको भर छ, न फुटपाथ नै सुरक्षित छ । यो सत्य देख्दा देख्दै पनि काठमाडौं महानगरका प्रमुख जनताले दिएको अधिकांश पूरा गरेको दाबी गर्न चुक्दैनन ।

शिक्षा, स्वास्थ्यजस्तै हिँड्न पाउनु पनि मानवअधिकार हो । जल्दा बल्दा ठूला ठूला भाषण गर्नुभन्दा साना तर अर्थपूर्ण काममा जनप्रतिनिधिको ध्यान जान जरुरी छ ।