
एजेन्सी । चीनमा हिजो दुर्घटनामा परेको चाइना इस्टर्न एयलाइन्सको जहाजको ब्ल्याक बक्स र यात्रुको आज पनि खोजी भइरहेको छ ।
दुर्घटनाको २४ घण्टा बितिसक्दा पनि जहाजमा रहेका यात्रु र चालक दलका सदस्यको शव पनि फेला परेको छैन । दुर्घटनापछि जहाज र वरपरको जंगलमा आगलागी भएकाले सबै जना जलेको हुन सक्ने अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
अहिलेसम्म जहाजका टुक्राटाक्रीसँगै केही यात्रुका पर्स र आइडी कार्ड भेटिएको समाचार संस्था एपीले जनाएको छ । तीन तिरबाट डाँडाले घेरेको दुर्घटना स्थलमा खोजी गर्न अप्ठेरो भइरहेको बताइएको छ । जहाजको सबै डाटाहरु हुने ब्ल्याक बक्स पनि अहिलेसम्म भेटिएको छैन ।
ब्ल्याक बक्स खोज्नका लागि ड्रोनसमेत परिचालन गरिएको छ । ब्ल्याक बक्स भेटिए जहाज के कारणले दुर्घटनामा परेको थियो भन्ने कारण पत्ता लगाउन सजिलो हुन्छ । कुनमिङबाट ग्वान्जाओका लागि उडेको जहाजमा १२३ यात्रु र ९ जना चालक दलका सदस्य थिए ।
फ्लाइटराडारको डाटाअनुसार उक्त बोइङ ७३७ जहाजमा २९ हजार फिट माथि उडिरहँदा समस्या देखिएको थियो । २९ हजार १ सय फिट माथि उडिरहेको जहाज एक मिनेटभित्रै ८ हजार फिटको उचाइमा आइपुगेको थियो । केहीबेर फेरि उचाइ लिन खोजे पनि जहाज जमिनमा झरेको थियो ।
प्रतिक्रिया दिनुहोस्