
काठमाडौं । दुर्लभ एक सिङे गैंडा स्थानान्तरणका लागि अध्ययन सुरु गरिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक र बाह्य गैंडा स्थानान्तरणका लागि अध्ययन थालिएको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा अध्ययन समिति बनाएको छ ।
यो समितिले गैंडासँगै बाह्रसिङे स्थानान्तरणका लागि अध्ययन गर्ने छ । कृष्णसार स्थानान्तरणका लागि अध्ययन गरी प्रतिवेदन तयार भइसकेको छ । अर्ना स्थानान्तरणको अध्ययनसमेत गरिने छ ।
अध्ययन समितिका संयोजक ढकालका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा पश्चिममा गैंडाको संख्या धेरै रहेको छ । ती गैंडामध्ये केहीलाई पूर्व स्थानान्तरणका लागि अध्ययन थालिएको हो ।
कोसीटप्पु राष्ट्रिय निकुञ्जमा चितवनको गैंडा लैजाने विषयमा अध्ययन थालिएको हो । समितिले चितवन र कोसीटप्पुको पहिलो चरणको अध्ययन गरेको छ । ढकालको भनाइमा कोसीटप्पु, बर्दिया र शुक्लाफाँटामा गैंडा स्थानान्तरणको विषयमा अध्ययन भइरहेको छ ।
विज्ञ समूहहरु पठाएर थप अध्ययन गरिने उहाँको भनाइ छ । बर्दियामा ३८ र शुक्लाफाँटामा १७ वटा गैंडा रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा ६९४ गैंडा छन् । पर्सा राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा छन् ।
चितवन र पर्सा जोडिएकाले गैंडा यताउता गरिरहने हुँदा गैंडाको संख्या घटबढ हुने गर्दछ । पछिल्लो गणनामा देशभरका यी निकुञ्जमा कूल गैंडाको संख्या ७५२ पुगेको छ । पूर्वी चितवनको टिकौली चौरमा कृष्णसार ल्याउनका लागि यसअघि नै अध्ययन गरिसकिएको छ ।
सो ठाउँमा १६ देखि १८ वटा कृष्णसार ल्याउन सकिने गरी अध्ययन गरेर प्रतिवेदन बुझाईसकिएको छ । खुल्ला खोर (पूर्वाधार) निर्माण गरी कृष्णसार ल्याउन सकिने अध्ययनले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्