१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कम्युनिष्ट पार्टीहरूबीचमा एकतामा धनश्याम भुसालको जोड


104
Shares

काठमाडौं । नेकपा(एमाले)का नेता घनश्याम भुसालले नेपालका कम्युनिष्ट पार्टीहरूबीचमा एकता गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग भेटघाट कार्यक्रम गर्दै नेता भुसालले नेपालका कम्युनिष्ट पार्टीहरूबीचमा सैद्धान्तिक र वैचारिक मतभिन्नता नरहेकाले पार्टी एकता गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले विगतमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बाट विभाजन भएको नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीचमा एकता हुनुपर्नेमा जोड दिनुभयो ।

नेता भुसालले कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्न सके देशको लोकतन्त्र बलियो हुने पनि बताउनुभयो । उहाँले विगतमा पार्टी विभाजन हुनुमा सबैको भूमिका छ भनेर आ—आफूले आत्मआलोचना गरेमा तत्कालका लागि स्थानीय तह निर्वाचनमा वाम गठबन्धन गर्न सकिने बताउनुभयो ।

आसन्न स्थानीय तह निर्वाचनमा वाम गठबन्धन गरेर पार्टी एकताका लागि आधार तयार गर्नुपर्नेमा उहाँको जोड छ ।

नेता भुसालले नेताहरूका स्वार्थमा आधारित एकता टिक्दैन भन्ने कुरा विगतको अनुभवहरूबाट बुझिसकिएको भन्दै आगामी एकता भने नेताहरूको निजी स्वार्थमा टेकेर गर्न नहुने बताउनुभयो ।