
काठमाडौं । विश्वकै छैटौं प्रदुषित शहरको सूचीमा परेको काठमाडौं उपत्यकामा कुल ७ सय १४ वटा सफा ट्याम्पो यातायात विभागबाट दर्ता गरिएका छन् । जसमध्ये ५ सय ५० वटा सञ्चालनमा छन् ।
यात्रुहरूको लोकप्रिय सवारी साधनमा रूपमा चिनिने तीन पांग्रे विद्युतीय यातायात सफा टेम्पो एकपटक फुल चार्ज गरेपछि २ सयदेखि ५ सय किलोमिटरसम्म गुडाउन सकिन्छ ।
यसको मूल्य ब्याट्रीको गुणस्तर अनुसार भर पर्दछ । लिथियम आयन एसिड प्रयोग गरिएको ब्याट्रीको मूल्य १० लाख र साधारण एसिड प्रयोग भएको ब्याट्रीको मूल्य २ लाखसम्म पर्दछ ।
नाकाबन्दीको समयमा अत्यधिक माग रहे पनि नाकाबन्दी हटे लगतै सरकारको ध्यान त्यसतर्फ गएन । वि.स. २०५३ मा डेनिस सरकारले अनुदानका रूपमा दिएको सवारी साधन २०५४ सालबाट नेपालमा निरन्तर सञ्चालनमा आएको थियो ।
प्रदुषणरहित सवारी साधनको रूपमा चिनिने सफा टेम्पोले धेरै जनालाई रोजगारीको अवसर प्रदान गर्दै आएको छ । विशेषगरी महिलाका लागि यो सवारी साधन सहयोगी सावित भएको छ । लोेडसेडिङ हटेसँगै विद्युतीय सवारी साधन सञ्चालनमा सहजता थपिएको छ ।
तर, सन् २०३० सम्ममा राज्यले २० प्रतिशत विद्युतीय सवारी साधनको रूपमा सञ्चालन गर्ने दाबी गरे पनि त्यसलाई व्यवहारमा उतार्ने छाँटकाट भने देखिँदैन ।
विद्युतीय सवारी साधनका लागि राज्यले खुल्ला नीति अवलम्बन गरेर निर्वाध रूपमा सञ्चालन गर्न सक्ने वातावरण बनाउनुपर्ने विद्युतीय सवारीसाधन संघको माग छ ।
विश्वव्यापी रूपमा हेर्ने हो भने पट्रोलियम पदार्थको मूल्य वृद्धि भइ सर्वव्यापी रूपमा विद्युतीय सवारी साधनको माग बढ्दा नेपालमा पनि यसको आवश्यकता खड्किएको छ ।
राज्यले विद्युतीय सवारी साधन प्रयोगका लागि आवश्यक पूर्वाधार निर्माण गरे पेट्रोलियम पदार्थको आयात पनि कम गर्न सकिन्छ । यसतर्फ राज्यको ध्यान बेलैमा जान जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्