
काठमाडौं । चितवनको माडीस्थित कुसुमखोलाबाट विस्थापित चेपाङहरुका लागि बनाइएको कुसुमखोला नमूना चेपाङ बस्तीको उद्घाटन गरिएको छ ।
त्यस क्षेत्रका सांसद समेत रहनुभएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिहीबार सोही ठाउँमा पुगेर बस्तीको उद्घाटन गर्नु भएको हो ।
कुसुमखोला, भालुखोला र अन्य भित्री चेपाङ बस्तीहरुबाट विस्थापित र स्थानान्तरित भई आएका चेपाङहरुको निम्ति सो स्थानमा निर्वाचन क्षेत्र विकास कोषबाट नमूना चेपाङ बस्ती कार्यक्रम अनुसार ४१ घर परिवारको आवास निर्माणको काम पूरा भएको हो ।
कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सो चेपाङ बस्तीलाई सहकारीको माध्यामबाट आत्मनिर्भर बनाउन लागि पर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले सो बस्ती उद्घाटन गर्ने अवसर आफूलाई प्राप्त भएकोमा खुशी व्यक्त गर्दै त्यस वरपरका ठाडो खोलाहरुको तटबन्ध निर्माणका लागि पनि आफूले सकेको सहयोग गर्ने आश्वासन दिनुभयो ।
अध्यक्ष दाहालले चितवनका सबै क्षेत्रको विकासका लागि आफूले पहल गरिरहेको कुरा स्थानीयलाई राम्ररी थाहा भएको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्