
कैलाली । त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब कैलालीको धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को उपाधिका लागि भिड्ने भएका छन् ।
शुक्रबार बिहान भएका सेमिफाइनलका खेलमा जित हासिल गर्दै दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफलाई ३–१ को सेटले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।
२५–२१ र २५–१६ ले पहिलो र दोस्रो सेट जितेको आर्मीले तेस्रो सेट भने २४–२६ ले गुमाएको थियो । चौथो सेट २५–१८ ले जित्दै आर्मी फाइनलमा पुगेको हो । म्यान अफ द म्याच आर्मीका मानबहादुर श्रेष्ठ भएका छन् ।
यसअघि भएको अर्को सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–२ को सेटले पराजित गर्दै विभागिय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको हो ।
२५–१६ र २५–१९ ले पहिलो र दोस्रो सेट जितेको पुलिसले २२–२५ र २३–२५ ले तेस्रो र चौथो सेटले गुमाएको थियो । पाँचौ सेट १५–१२ ले जित्दै पुलिस क्लब उपाधि नजिक पुगेको हो ।
खेलका म्यान अफ द म्याच पुलिस क्लबका रविन चन्द भएका छन् । फाइनल खेल भोलि विहान ९ बजे हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्