२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


‘एक्लै जित्ने ठाउँमा गठबन्धन आवश्यक छैन, गठबन्धनका लागि सभापतिले लाद्नुहुन्न’


182
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै केन्द्रीय सदस्यहरूले आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कांग्रेस एक्लैले जित्ने ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका हुन् ।

बैठकबारे सञ्चारकर्मीहरूलाई जानकारी दिँदै नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले गठबन्धन गर्दा पार्टीले जित्ने ठाउँमा गठबन्धन गर्ने र गठबन्धन बिना जित्ने ठाउँमा गठबन्धन नगर्ने भनि केन्द्रीय सदस्यहरूले मत राखिरहेको बताउनुभयो ।

प्रवक्ता महतले सभापति शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा गठबन्धन गर्न जबरजस्त निर्णय लाद्न खोजेको भनि गलत प्रचार गरिएको बताउनुभयो ।

‘पार्टी सभापतिले चाहीँ यसरी लाद्नुहुँदैछ, उहाँले लाद्ने कुरा कहाँ गर्नुभाछ ? केन्द्रीय समिति बैठक बसिराछ, त्यहाँबाट निर्णय हुन्छ, केन्द्रीय समितिको निर्णय लाद्या हुन्छ,’ उहाँले भन्नुभयो, ‘केन्द्रीय समितिको निर्णय विना पार्टी सभापति एक्लै जानुहुन्छ ? केन्द्रीय समितिले त्यहाँको वस्तुस्थिति वेवास्ता गरेर निर्णय गर्छ ? गर्दैन ।’

प्रवक्ता महतले पार्टीको केन्द्रीय समिति बैठकबाट सर्वसम्मत निर्णय हुने त्यसलाई नै पार्टी सभापतिले पनि मान्ने बताउनुभयो ।

‘पार्टी सभापतिले लादेर काम कहिल्यैपनि गर्नु भाछैन, आजको दिनमा पनि गर्नुहुन्न, भोलिको दिनमा पनि गर्नुहुन्न,’ उहाँले भन्नुभयो, ‘जे निर्णय हुन्छ यहाँबाट सर्वसम्मत् निर्णय हुन्छ ।’

उहाँले पार्टी सभापतिले जर्बजस्त निर्णय नलाद्ने र यसको सम्बन्धमा निर्णय केन्द्रीय कमिटी बैठकले गर्ने बताउनुभयो । स्थानीय तहको आवश्यकता र वस्तुस्थितिलाई वेवास्ता गरेर माथि बाट कुनै पनि निर्णय नलादिने उहाँले स्पष्ट पार्नुभयो ।

बैठकमा बोल्ने केन्द्रीय कमिटी सदस्यहरुले घर–घर जाऔँ, कांग्रेस जिताऔँ अभियानको सम्बन्धमा र सम्बन्धित जिल्लाको तल्लो तहसम्मको पार्टी संगठनको अवस्थाको बारेमा रिर्पोटिङ गरिरहेको उहाँले बताउनुभयो ।

प्रवक्ता महतले नेपाल विद्यार्थी संघमा अध्यक्ष तोकिएको विषयलाई विवादित भनेर सम्प्रेषण गर्नु आवश्यक नरहेको बताउनुभयो । पार्टी सभापति देउवाले पार्टीसँग सरसल्लाह र सुझाव लिएरै निर्णय गर्नुभएको उहाँले बताउनुभयो ।