
बारा । बिएफसी चितवनलाई हराउँदै बागमती युवा क्लब सर्लाही जगदम्बा १२ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।
सिमरा रंगशालामा हिजो भएको खेलमा चितवनलाई २–१ ले पराजित गर्दै बागमती अन्तिम आठमा प्रवेश गरेको छ ।
चितवनविरुद्ध रोमाञ्चक जित हात पार्ने क्रममा बाग्मतीका दिनेश चाम्लिङ राई र प्रदीप लम्सालले गोल गरे । बागमतीका लागि रोशन क्षेत्रीले गोल गरेका थिए ।
प्रतिस्पर्धात्मक भिडन्तमा खेलको १५ औं मिनेटमा चितवनले खेलमा अग्रता लिएको थियो । क्षेत्रीले वन भर्सेस वनको अवस्थामा गोल गरे । क्षेत्रीको प्रहारलाई बागमतीका गोलरक्षक प्रिसोले नियन्त्रणमा लिन सकेनन् ।
चितवनले लिएको अग्रता बराबरीमा ल्याउने क्रममा बागमतीका चाम्लिङ राईले खेलको २३ औं मिनेटमा गोल फर्काए । डिबक्स भित्रबाट दिनेशले गरेको प्रहार चितवनका गोलरक्षक मनोज गुरुङले ठम्याउन सकेनन् । उनको उत्कृष्ट गोलले खेलमा पुनरागमन गरेको बागमतीले पहिलो हाफमा चितवनलाई नियन्त्रणमा लिन सफल भयो ।
चितवनविरुद्ध पहिलो हाफमा तालमेल बनाएको बागमतीले विपक्षी टोलीको केही प्रयासलाई असफल तुल्याएको थियो । दोस्रो हाफमा चितवन केही लयमा देखियो । केही राम्रा अवसर बनाएपनि फिनिसिङमा चुकेको चितवनले बागमतीलाई दवावमा राख्यो ।
खेलको ६५ औ मिनेटमा चितवनका जोहनले गोल गर्ने सुनौलो अवसर गुमाए । उनको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । दोस्रो हाफमा तालमेलको अभाव देखिएको बागमतीले अन्तिम समयमा भने उत्कृष्ट खेल पस्कियो । चितवनलाई स्तब्ध पार्ने क्रममा बागमतीले खेलको ८१ औं मिनेटमा बिजयी गोल गरेको थियो । बागमतीका प्रदीप लम्सालले डिबक्स बाहिरबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
अन्तिम समयमा अग्रता लिएपछि उत्साहित बागमतीले चितवनलाई पूर्ण दवावमा राख्दै नतिजा आफ्नो पक्षमा पारेको थियो ।
बागमतीका दिनेश खेलको म्यान अफ दि म्याच घोषित भएर उनले ५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत शनिबार न्युरोड टिम (एनआरटी) र विजय युथ क्लब बीच खेल हुनेछ ।
नव जनजागृति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता चैत्र १९ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्