
नवलपरासी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर म्यादी प्रहरीको भर्ना खुलाईएको छ । पश्चिम नवलपरासीमा भने भर्ना हुनजाने अधिकांश युवाहरु विदेश गएर फर्केका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा म्यादी प्रहरी भर्नाका लागि आवेदन दिन आएका यी स्थानीय युवाहरुलाई विदेश जान पटक्कै मन छैन । तर देशमा रोजगार नपाएपछि विदेशमा गएर पसिना बगाउनुको विकल्प पनि छैन ।
म्यादी प्रहरीमा भर्ना हुन आउने अधिकांश युवाहरु विदेश गएर फर्किएका छन् । रोजगारको व्यवस्था नहुँदा उनीहरु घरमै बस्न बाध्य छन् । आर्थिक अवस्था कमजोर भएका युवाहरुलाई रोजगारीका लागि सरकारले व्यवस्था नगर्दा विदेशीन बाध्य भएका हुन् ।
थोरै जग्गा भएकाले कृषि पेशा अपनाउन पनि सकेका छैनन् । घरमा खाली बस्नु भन्दा केही दिनको कमाईले घर खर्च चलाउन सजिलो हुने भएकाले भर्ना हुन आएको उनीहरुको भनाइ छ । दश वर्षसम्म मलेसिया र कतारमा पसिना बगाएर आएका यी युवाहरुकाे अवस्था पनि उस्तै छ ।
पश्चिम नवलपरासीमा ७ स्थानीय तह छन् । त्यहाँ खटाउन १ हजार २९ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको प्रहरी उपरीक्षक मनोजकुमार यादवले जानकारी दिनुभएको छ । आर्थिक अभावकै कारण प्लस टु पास गरेर पढ्दै गरेका विद्यार्थीहरु पनि म्यादी प्रहरीमा भर्ना हुन आएका छन् ।
सरकारले रोजगारीको व्यवस्था गर्न नसक्दा पढाई खर्च जोहो गर्नपनि भर्ना हुन आएको उनीहरुको भनाइ छ । भर्नापछि आधारभूत तालिम दिई निर्वाचनमा खटाईने छ । ४० दिन निर्वाचनकाे काममा खटाईने म्यादी प्रहरीलाई तलव र अन्य सेवा सुविधासहित ४३ हजार ४ सय ४० रुपैयाँ दिईनेछ । सरकारले युवाहरुका लागि विभिन्न स्वरोजगारका कार्यक्रम ल्याएको जनाएपनि त्यसबाट उनीहरु लाभान्वित हुन सकेको देखिएको छैन ।
तसर्थ सरकारले रोजगार सम्बन्धमा दीर्घकालीन ठोस कार्यक्रम नल्याएसम्म युवाहरुमा विदेश जाने बाध्यता हट्न नसक्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्