१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


माओवादीसँगको एकीकरणपछि नै एमाले सकिएको थियो : झलनाथ खनाल


1.365k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले माओवादीसँगको एकीकरणपछि नै सकिएको दाबी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजना भएको नेकपा समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको केन्द्रिय कमिटी प्रथम विस्तारित बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री खनालले यस्तो बताउनभएको हो ।

उहाँले नेकपा एमाले भनेको इतिहास भएको भन्दै अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टी दक्षिणपन्थी अवसरवादको गुट भएको आरोप लगाउनुभयो ।

पूर्व प्रधानमन्त्री खनालले नयाँ गुटले अहिले पनि देशभर नेकपा एमाले हौँ भनेर भ्रम छर्ने काम गरेको पनि बताउनुभयो ।

उहाँले नेकपा एमालेमा रहेका नेता तथा कार्यकर्तालाई जनताको साथ दिइरहेको पार्टी नेकपा एकीकृत समाजवादीमा आउन पनि आग्रह गर्नुभयो ।

उहाँले नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई सिट नभएर दुई तीन सिट मात्र ल्याउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेकपा एमालेले आगामी चुनावमा दुई तिहाई त होइन, त्यसको उल्टो दुई, तीन वटा हुनसक्छ । अब केपी ओलीले ल्याउने भनेको २/३ वटा हो ।’

पूर्व प्रधानमन्त्री खनालले आफ्नो पार्टी नेपालको इतिहासमै छोटो समयमै राष्ट्रव्यापी बनेको पनि दाबी गर्नुभयो । उहाँले नेपालको इतिहासमै ६ महिनाभित्रको समयमा अहिलेसम्म कुनै पार्टीले आफूलाई राष्ट्रव्यापी बनाउन नसकेको पनि बताउनुभयो ।

पूर्व प्रधानमन्त्री खनालले ६ महिनामा पार्टी राष्ट्रव्यापी बन्नु असाधारण विकास भएको दाबीसमेत गर्नुभयो । उहाँले अहिले नेपालमा वैचारिक रुपले दक्षिणपन्थी अवसरवाद सबैभन्दा ठूलो अवरोध भएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री खनालले वर्गीय रूपले दलाल पूँजीवाद सबैभन्दा ठूलो समस्या भएको र त्यसविरुद्धमा आफ्नो पार्टी लडिरहेको बताउनुभयो । उहाँले नेकपा एमाले आफैं एउटा गन्जागोलको शिकार बनिरहेको पार्टी दाबी गर्नुभयो ।