
एजेन्सी । युक्रेनमाथि आक्रमण गरेको एक महिनापछि रुसले कारबाहीको पहिलो चरण समाप्तिको घोषणा गरेको छ ।
रुसका वरिष्ठ सैन्य अधिकारीले कारबाहीको पहिलो चरणको मुख्य काम पूरा भएको घोषणा गर्दै युक्रेनी सशस्त्र फौजको युद्धक्षमता ठोस रूपमै कमजोर भएको दाबी गर्नुभएको छ ।
रुसको रक्षा मन्त्रालयले युक्रेनको युद्ध क्षमतामा कमी ल्याउन सफल भएको भन्दै युद्धको प्रारम्भिक उद्देश्य पूरा भएको दाबी गरेको हो । रुसले आफ्नो रणनीतिमा परिवर्तन गर्ने र पूर्वी क्षेत्रलाई ‘मुक्त’ बनाउन केन्द्रित हुने घोषणा गरेको छ ।
पूर्वी युक्रेनको डोन्बास रुसले समर्थन गरेका पृथकतावादीहरूको बाहुल्य रहेको क्षेत्र मानिन्छ । मुख्य–मुख्य शहरलाई निशाना बनाएको रुसी सेनाले किएभमा पनि बमबारी जारी राख्दै राजधानी शहरलाई घेराबन्दी गरेको छ ।
युक्रेनका केही मुख्य शहरहरू कब्जा गर्ने र युक्रेनको सरकार ढाल्ने लक्ष्य लिएको रुसको योजना युक्रेनको बलियो प्रतिवादका कारण असफल भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच, पश्चिमा अधिकारीहरूले रुसको यो घोषणा मस्कोको रणनीति असफलताको संकेत भएको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्