२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


रामग्राम नगरपालिका बालमैत्री नगर घोषणा

अघिल्लो सरकारको दायित्वसहित अघि बढेको मुख्यमन्त्री केसीको भनाइ

351
Shares

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ ।

नगरपालिकालले शनिबार आयोजना गरेको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री नगरपालिका घोषणा गर्नुभएको हो ।

बालमैत्री नगर घोषणाका लागि आवश्यक पर्ने ५१ वटा सूचक पूरा गरेकाले नगरलाई बालमैत्री घोषणा गरिएको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो ।

बालमैत्रीको दिगोपनाका लागि ५ वर्षे रणनीतिक योजनासमेत तयार गरिएको घोषणा सभामा जानकारी दिइएको थियो ।

७ पालिका रहेको जिल्लामा २ नगरपालिका बालमैत्री घोषणा भएका छन् । यसअघि सुनवल नगरपालिका बालमैत्री घोषणा भइसकेको छ ।

अघिल्लो सरकारको दायित्वसहित अघि बढेका छौंः– मुख्यमन्त्री केसी
यसैबीच घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले अघिल्लो सरकारको दायित्वलाई निरन्तरता दिएर नयाँ कार्यक्रमलाई पनि अघि बढाएको बताउनुभएको छ ।

राजनीतिक रूपमा केही प्रश्नहरु उठे पनि पुराना सरकारले ल्याएका कामलाई निरन्तरता दिएको दाबी गर्दै उहाँको रणनीतिक योजना, बहुवर्षिय योजना, गौरवका आयोजना र पञ्चवर्षीय योजनाबाट निर्देशित पुराना सरकारका योजनालाई पूरा गर्न लागि परेको प्रष्टिकरण दिनुभयो

यसअघि, एमाले नेता एवं लुम्बिनी प्रदेशमा पूर्वभौतिक तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले अघिल्लो सरकारले सञ्चालन गरेका बहुवर्षीय योजनासहितका कामलाई अधुरो राखेर मन्त्रिपरिषद्बाट निर्णय गरी मुख्यमन्त्रीले आफूखुसी गरेको आरोप लगाउनुभएको थियो ।