१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


गठबन्धन कांग्रेसलाई धर्मसंकट, निर्वाचनको मुखमा पार्टीभित्र विवाद


260
Shares

काठमाडौं । आगामी बैशाख ३० गते तय स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रसभित्र सत्तासाझेदार दहरुबीच आगामी निर्वाचनमा गठबन्धनबारे तीब्र मतभेद देखिएको छ । जारी केन्द्रीय समितिको बैठक गठबन्धनबारे दुई धारमा विभाजित भएको छ । गठबन्धन भएपनि त्यसको सम्पूर्ण अधिकार तल्लो तहलाई दिनुपर्ने मत राख्नेहरुको संख्या पनि उल्लेख्य छ । यद्यपि बैठकले गठबन्धनबारे ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।

सत्तारुढ पाँच दलीय गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकलाई गठबन्धनका अन्य दलहरुले पनि चासोपूर्वक हेरेका छन् । किनकी कांग्रेसले जारी केन्द्रीय समिति बैठकबाट चुनावी तालमेलबारे निर्णय गर्ने आश्वासन सहयात्री दललाई दिएको थियो । गठबन्धन सम्बन्धमा कांग्रेस अप्ठ्यारो अवस्थामा छ । केन्द्रमा गठबन्धन गर्नैपर्ने अवस्था छ भने स्थानीय स्तरमा गठबन्धन विरोधी भावना छ । स्थानीय स्तरमा रहेको गबन्धनप्रतिको धारणा बुझेका एक महिने अभियानमा खटिएका अधिकांश केन्द्रीय प्रतिनिधिहरु पनि चुनावी तालेमलको विपक्षमा देखिएको नेपाली कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी बताउनुहुन्छ ।

यसअघि अधिकांश नेपाली कांग्रेसका प्रदेश सभापतिहरुले गठबन्धन बिना नै चुनावमा जानुपर्ने धारणा राखेका थिए । ७ मध्ये दुई प्रदेश सभापति मात्र गठबन्धनको पक्षमा देखिएका छन् । तर, एक महिने अभियानको क्रममा स्थानीय बस्तुस्थिति बुझेका कतिपय केन्द्रीय नेताहरु भने गठबन्धनकै पक्षमा देखिएका छन् । गठबन्धनकै पक्षमा जादा बलियो हुने नेपाली कांग्रेस केन्दीय सदस्य सुजाता कोइराला बाताउनुहुन्छ ।

गठबन्धनबारे केन्द्रमा देखिएको विवाद स्थानीय स्तरसम्म पुगेको छ । विवादबीच संस्थापन र इतर पक्षका कतिपय नेताहरु भने गठबन्धनको जिम्मेवारी पार्टीको स्थानीय समितिलाई नै दिनुपर्ने पक्षमा छन् । गठबन्धन सम्बन्धमा पार्टीभित्र विवाद बढ्दै जाँदा केही केन्द्रीय प्रतिनिधिहरुले भने पार्टी विधान अनुसार मध्यमार्गी सुझाव प्रस्तुत गरेका छन् ।

पाँच दलको तर्फबाट गठबन्धनको सरकारको नेतृत्व गरिरहकाले कांग्रेस केन्द्रमा गठबन्धन तोड्न सक्ने अवस्थामा छैन् । अर्कोतिर, केन्द्रको परिस्थितिका कारण चुनावी गठबन्धन गरे स्थानीय स्तरमा तीब्र विरोध हुने अवस्था छ । गठबन्धनबारे धर्मसंकटमा रहेको कांग्रेसलाई चुनावको मुखमा गठबन्धनबारे पार्टीभित्रको विवादको असर आगामी स्थानीय तह निर्वाचन पर्नेभय पनि उत्तिकै छ ।