
हेटौंडा । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले एक सय दिन पूरा गरेको छ ।
मन्त्रालयले आज सोमबार पत्रकार सम्मेलन गरी एक सय दिनमा गरेको कामको प्रगतिबारे जानकारी दिएको छ ।
श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले १० अर्व ८५ करोड राजस्व लक्ष्य रहेको र हालसम्म ७ अर्व १२ करोड ७३ लाख राजस्व संकलन गरिसकेको जानकारी दिनुभयो ।
यातायात क्षेत्रमा सेवा प्रवाह र सुशासनमा काम गरिरहेको बताउँदैं मन्त्री दाहालले यातायात क्षेत्रका समस्याहरु समाधान गरिएको र नीतिगत समस्या समाधानको पहल भइरहेको बताउनुभयो ।
सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको र कार्यगत प्राथमिकताका आधारमा कार्यालयको लेआउट मिलाई सेवाग्राहीले सहज रुपमा सेवा लिने वातावरण निर्माण गरिएको उहाँको भनाई थियो ।
सिन्धुलीको खुर्कोटमा यातायात व्यवस्था सेवा कार्यालय स्थापना गर्न र चितवन, मकवानपुरमा रहेको यातायात व्यवस्था सेवा कार्यालयको स्तरोन्नतिका लागि प्रक्रिया अगाडि बढाइएको उहाँको भनाई थियो ।
सवारी साधनको कर, नवीकरण शुल्क अनलाइन र वालेट सेवा प्रदान गर्ने प्लेटफर्म जस्तै कनेक्ट आइ पि एस, खल्ती र ईसेवा मार्फत भुक्तानी हुने व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्