
चितवन । चितवन राष्ट्रिय निकुञ्ज अतिक्रमण गरेको भन्दै माडी नगरपालिका कुसुमखोला किनारमा रहेको चेपाङका घरगोठ जलाइएको छ ।
निकुञ्जको नेपाली सेनाको टोलीले हिजो साँझ चेपाङका घरगोठमा आगजनी गरेको हो । स्थानीयले त्यहाँका झण्डै १५ घरमा आगजनी भएको जानकारी दिएका छन् ।
माडी नगरपालिकाका मेयर ठाकुर ढकालसहितको टोलीले आगजनी भएको स्थानका निरीक्षण गरेको छ । ढकालले पूरानोसहित केही नयाँ घरमा आगजनी भएको बताउनुभयो ।
कुसुमखोलामा २०४८ सालदेखि बसोबास गर्दै आएका चेपाङलाई माडी नगरपालिकाले गत वर्ष स्थानान्तरण गरेको थियो । अहिले फेरि गएर बनाइएका नयाँ घरमा निकुञ्जको सेनाले आगजनी गरेको हो ।
मेयर ढकालले धेरैलाई स्थान्तरण गरिसकेको र बाँकीलाई पनि हटाउने तयारी भइरहेको अवस्थामा सल्लाह नगरी आगजनी गरिएको बताउनुभयो ।

निकुञ्ज प्रशासनले स्थानान्तरण गरेका केही घर परिवार फेरि फर्किएर सोहि ठाउँमा गएको र अधिकांश व्यक्ति जिल्ला बाहिरबाट आएर बसोबास गर्न थालेपछि हटाएको दाबी गरेको छ ।
नगरपालिकाले गत वर्ष कुसुमखोलाका २५ घरपरिवार बगई, ८० घर राई डाँडा र ४२ घरलाई परुई खोला किनारमा बसोबास गराएको थियो ।
प्रतिक्रिया दिनुहोस्