
तेह्रथुम । तेह्रथुमका विद्यालयहरुमा आधुनिक प्रविधिको सुविधा थपिने क्रम तीव्र रुपमा वृद्धि भएकाे छ ।
इन्टरनेटको पहुँच गाउँ-गाउँमा पुग्न थालेपछि तेह्रथुमका विद्यालयहरु आधुनिक प्रविधिसँग जोडिन थालेका छन । जिल्लाको ग्रामीण स्तरमा रहेका विद्यालयहरुमा समेत पछिल्लो समय इन्टरनेट जडान भएपछि आधुनिक प्रविधिकाे माध्यमबाट पढाई हुन थालेपछि विद्यार्थीहरु पनि खुशी भएका छन ।
केही वर्ष अघिसम्म कालोपाटीमा चक र डस्टरको माध्यमबाट पढाई हुने विद्यालयमा अहिले इन्टरनेटको माध्यमबाट पढाई हुन्छ भन्दा पत्याउन सजिलो छैन् । तर, यो तेह्रथुमको दुर्गम क्षेत्रमा अवस्थित विद्यालयहरुमा अहिले सबै विद्यार्थीलाई इन्टरेनेटको माध्यमबाट सिकाउने गरिएको छ । कपि, कलम र बुकहरुबाट सिकाई हुने कक्षाहरुमा अहिले यसरी कम्प्यूटर र ल्याप्टको माध्यमबाट पढाई सुरु गरिएको छ ।
विद्यालयका शिक्षक र विद्यार्थीहरु आफ्नै विद्यायलबाट ईमेल गर्न थालेका छन भने सामाजिक सञ्जालसमेत चलाउन थालेकाछन् । विद्यार्थी, अभिभावक, शिक्षक र समुदायलाई एकै साथ सूचना प्रविधिमा जोड्न तेह्रथुमका ४ वटा माध्यमिक विद्यालयमा डिजिटल साक्षरता अभियान सुरु भएको छ ।
प्रदेश-१ सरकारको सामाजिक विकास मन्त्रालयले डिजिटल साक्षरता अभियान सुरु गरेपछि शिक्षकका साथै विद्यार्थीहरुलाई समेत पठनपाठनमा सहज भएको विद्यार्थीहरुको अनुभव छ।
ई–एजुकेसनको माध्यमबाट सिंगो समुदायलाई कम्प्युटर प्रविधिमा जोड्ने उदेश्यले ‘प्रदेश समृद्धिको आधार, शिक्षामा डिजिटल पूर्वाधार’ नाराका साथ मेन्छ्यायेम गाउँपालिकाको गौखुरी मावि र श्रीजुङ मावि, फेदाप गाउँपालिकाको जनज्योती मावि र छथर गाउँपालिकाको भगवती माविमा एकै साथ डिजिटल साक्षरता अभियान सुरु गरिएको हो ।
विद्यार्थीहरुलाई सचित्र पठनपाठनमा सहजता हुनको साथै विद्यार्थी शिक्षक दुबैलाई मदत पुगेको भगवती माध्यमिक विद्यालय छथर गाउँपालिकाका प्रधानध्यापक श्रीमान बस्नेतले बताउनुभयो ।
प्रविधिको विकाससँगै जिल्लाका विद्यालयमाहरुमा कम्प्युटर जडान भएका छन । कम्प्युटरको साथमा ईन्टरनेट जडान गर्ने क्रम बढ्दै गएको छ । केही स्थानीय तहरुले एक विद्यालय एक स्मार्ट टिभी कार्यक्रम सुरु गरेका छन् ।
दुर्गम क्षेत्रक विद्यालयहरुमा समेत गाउँपालिकाले इन्टरनेटको पहुँच पुर्याएपछि यस क्षेत्रका विद्यार्थीहरुले समेत प्रविधिमैत्री वातावरणमा पढ्न पाएका छन् ।परम्परागत सिकाईलाई निरन्तरता दिदै प्रविधिमैत्री सिकाईलाई सहज साथ अगाडी बढाईएका कारण यस क्षेत्रका विद्यार्थीहरुलाई राहत पुगेको छ ।
शिक्षकलाई प्रविधिमैत्री तालिम र विद्यार्थी शिक्षकबीचको आपसी प्रविधिमैत्री छलफलले दुर्गम क्षेत्रमा समेत गुणस्तरीय शिक्षाको पहुँच पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्