१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नेपाली सेनाले हिमाल सरसफाईमा बढी मूल्यमा ठेक्का दिएपछि छानविनका लागि अख्तियारमा उजुरी


221
Shares

काठमाडौं । नेपाली सेनाले चारवटा हिमाल सरसफाईको लागि बोलपत्र आह्वान गरेको ठेक्कामा बिवाद भएको छ ।

सेनाले ४ वटा हिमालमा थुप्रिएको फोहोर काठमाडौं ल्याउनका लागि कम मूल्य तोक्ने कम्पनीलाई ठेक्का नदिई बढी मूल्य तोक्ने कम्पनीलाई ठेक्काको जिम्मा दिएपछि बिवाद उब्जिएको हो । फोहोर ल्याउने ठेक्काका लागि सेभेन समिट ट्रेक्स र पिक प्रोमोशन प्रा.लि.ले आवेदन दिएका थिए । ती मध्ये सेनाले कम मूल्य दर राखेको सेभेन समिट ट्रेक्सलाई ठेक्का नदिई बढी मूल्य राख्ने पिक प्रमोशन प्रालिलाई ठेक्का दिएको थियो ।

नेपाली सेनाले सेभेन समिट ट्रेक्स प्रा.लि.ले ठेक्काको जिम्मा पिक प्रमोशन प्रा.लि.ले पाउनुको कारणबारे छानबिन गर्न अख्तियारमा उजुरी हालेपछि ठेक्का बिवाद बाहिर आएको हो ।

सेनाले फोहोर ल्याउने ठेक्काका लागि २०७८ मंसिर २१ गते बोलपत्र आह्वान गरेको थियो । सगरमाथा, मनास्लु, ल्होत्से र कञ्चनजंघा हिमाल सरसफाईको लागि भन्दै बोलपत्र आह्वान गरेको थियो ।

सेनाले बोलपत्र र कबोल अंक मूल्य अभिबृद्धि कर बाहेक ५ करोड ८० लाख ४० हजार रुपैयाँ बराबरको ठेक्का आह्वान गरेको थियो ।

सेभेन समिट ट्रेक्सले ३ करोड ९९ लाखमा चारवटै हिमाल सरसफाई गर्ने गरी आवेदन हालेको थियो । त्यसैगरी पिक प्रमोशन प्रालिले समेत ६ करोड २० लाखमा चारवटै हिमाल सरसफाई गर्ने गरी आवेदन पेश गरेको थियो ।

तर, सेनाले झण्डै २ करोड १९ लाख बढीको अर्थात ६ करोड २० लाख रुपैयाँको आवेदन दिने पिक प्रमोशन प्रा.लि.को बोलपत्रलाई स्वीकृती दिएको थियो । सेभेन समिटले यसमा असन्तुष्टि जनाउँदै छानविनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको जनाएको छ ।