
काठमाडौं । पूर्व सांसद मञ्च नेपालले आसन्न स्थानीय तह निर्वाचनलाई निस्पक्ष,धाँधली रहित एवं स्वतन्त्रतापूर्वक वातावरणमा सम्पन्न गराउन सम्वन्धित सबैसंग आग्रह गरेको छ ।
मञ्चले बिहिबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा आगामी २०७९ बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा सार्वभौमसत्ता नेपाली जनताको मतदान गर्ने अधिकारलाई सुनिश्चत गर्दै धाँधलीरहित वातावरणमा निर्वाचन गराउन आग्रह गरेको हो ।
पत्रकार सम्मेलनमा पूर्व सांसद मञ्चका महासचिव शंकरनाथ शर्मा अधिकारीले पेट्रोलियम पदार्थ,दैनिक उपभोग्य वस्तु,निर्माण सामग्री लगायतमा भएको मूल्यबृद्धिले जनता निकै मारमा परेका भन्दै मूल्य बृद्धि अबिलम्व रोक्न सरकारसँग माग गर्नुभयो । उहाँले अश्वाभाविक मूल्य बृद्धिका कारण आम जनता समस्यामा परेका र मजदुरहरुको रोजीरोटी गुम्ने अवश्था आएको भन्दै त्यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । महासचिव शर्माले देशका कतिपय स्थानमा अघोषित लोडसेडिङ हुन थालेको भन्दै लोडसेडिङ नहुने व्यवस्था मिलाउन पनि सरकारसँग माग गर्नुभयो ।
त्यसैगरी पत्रकार सम्मेलनमा पूर्व सांसद मञ्चका अध्यक्ष एवं पूर्व मन्त्री ओमकार श्रेष्ठले मञ्चले यसअघि पनि देशका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराइएको भन्दै त्यसको समाधानका लागि सरकारसंग आग्रह गर्नु भयो । उहाँले सरकारले पूर्व सांसदहरुको अनुभवलाई उपयोग गर्न चाहेमा आफूहरु सरकारलाई सहयोग गर्न तयार रहेको पनि बताउनु भयो । अध्यक्ष श्रेष्ठले संसदको परामर्श दातृ अंगको रुपमा विगत लामो समयदेखि कार्यरत पूर्व सांसद मञ्चले सरकारलाई संविधान एवं कानून निर्माण लगायतका विषयमा परामर्श प्रदान गर्दै आइरहेको पनि उल्लेख गर्नुभयो ।
तर सरकारले कतिपय कुरामा भने पूर्व सांसदहरुको अनुभव प्रयोग गर्न वेवास्ता गरेको श्रेष्ठले बताउनुभयो । पूर्व सांसदहरुको स्वास्थ्य उपचार लगायतका विषयमा सरकारले आश्वाशन दिएपनि गम्भीर भने नबनेको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्