४ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025


मन्त्री भट्टद्वारा दिल्लीमा प्रधानमन्त्री देउवाको स्वागत


3.497k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गर्नुभएको छ ।

नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री भट्टसहित नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र विदेश मन्त्रालयका नेपाल हेर्ने सहसचिव अनुराग श्रीवास्तवले देउवाको स्वागत गर्नुभएको हो ।

तीन दिने भ्रमणका लागि दिल्ली जानुभएका देउवाको स्वागतमा दिल्ली विमानस्थल र दिल्लीका सडकहरूमा बोर्ड राखिएको छ ।

प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा, ऊर्जामन्त्री पम्फा भुसाल र कृषिमन्त्री महेन्द्र राय यादव सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा गएर बस्ने तालिका रहेको छ । प्रधानमन्त्री देउवासँग आज अपराह्न साढे चार बजे भारतीय विदेशमन्त्री एस जयशंकर र सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्ने कार्यक्रम छ ।

त्यसपछि देउवा पाँच बजे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुग्नुहुनेछ । त्यसपछि उहाँ नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी हुनुहुनेछ ।

प्रधानमन्त्री देउवाले शनिबार समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवाले आइतबार बनारसको भ्रमण गर्ने र सोही दिन स्वदेश फर्किने कार्यक्रम छ ।