१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वीरगञ्जमा चुनावी सरगर्मी बढ्यो


78
Shares

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पर्सामा राजनीतिक दलहरुको सक्रियता बढ्न थालेको छ ।

राजनीतिक दलहरुले पार्टी प्रवेशदेखि वडा–वडामा प्रचार–प्रसार कार्यालय स्थापना गरेका छन् । केन्द्रीयस्तरका नेतालाई बोलाउने र राजनीतिक प्रभाव तयार गर्ने कार्यक्रमले पनि जिल्लामा चुनावी माहोल तातेको स्पष्ट हुन्छ । तराईमा गर्मीसँगै चुनावी सरगर्मी पनि बढेको छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत सबै दलले चुनाव केन्द्रित कार्यक्रम गर्न थालेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पर्साका ग्रामीण भेगमा संगठन विस्तार गर्दै पार्टी प्रवेश कार्यक्रमलाई जोड दिइरहेको छ । जिल्लाका विभिन्न नेता, कार्यकर्ताहरुलाई काठमाडौंसम्म पुर्‍याएर पनि पार्टी प्रवेश गराईरहेको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) सहित अन्य राजनीतिक दलहरुले पनि जिल्लामा चुनावी गतिविधि बढाउँदै छन् । राजनीतिक दलहरुले चुनावलाई लक्षित गरी पार्टी प्रवेश, प्रशिक्षण, संगठन बिस्तारका कार्यक्रम गरीरहेका छन् । स्वतन्त्र उम्मेदवारको चाहाना राख्नेहरु पनि व्यक्तिव्यक्तिसँगको भेटघाटमा व्यस्त देखिन्छन् ।

जिल्लामा एक महानगरपालिका, ३ नगरपालिका र १० वटा गाउँपालिका गरि १४ वटा स्थानीय तह रहेका छन् । पर्सामा हालसम्म सत्तागठबन्धन मध्येको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बाहेकका सबै पार्टीका अध्यक्ष र शिर्ष नेताहरु आईसकेका छन् ।

चैत १० गते लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो वीरगञ्ज पुगेर नेता, कार्यकर्तालाई प्रशिक्षण दिदैँ स्थानीय तहको निर्वाचनमा जित्ने गरी खट्न निर्देशन नै दिनुभयो ।

यस्तै चैत ७ मा मधेस आन्दोलनका चर्चित नेता राजेशमान सिंह जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । गत सोमबार वीरगञ्जमा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रममा नेता सिंह जसपा प्रवेश गर्नुभएको हो । उहाँलाई जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले टीका र माला लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

नेता सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी एमाले जाने तयारी गर्नुभएको थियो । तर, एमालेले आफूभन्दा पहिले नै वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई पार्टी प्रवेश गराएपछि उहाँ असन्तुष्ट भएर जसपा प्रवेश गर्नुभएको हो । उहाँले आफूले मधेशको मुद्दा नछोडेको बताउनुभयो । मधेशी दलहरुले मधेशको मुद्दा सम्बोधन गराउन लाग्ने उहाँको भनाई छ ।

गत २६ फागुनमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्साको पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनियारलाई कांग्रेसमा प्रवेश गराउनुभएको थियो । रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीबाट मेयर बनेका रौनियार आगामी स्थानीय तह निर्वाचनमा टिकटका लागि नै कांग्रेस प्रवेश गरेको चर्चा छ ।

त्यसैगरी, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगी नेकपा (एमाले) मा प्रवेश गर्नुभयो । नगरप्रमुख सरावगीसँगै बाराको आदर्श कोटवाल गाउँपालिकाका अध्यक्षलगायतलाई पनि एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराउनुभएको थियो । वीरगञ्ज महानगरप्रमुख सरावगीले एमाले अध्यक्ष ओलीले लिपुलेकलाई नेपाली नक्सामा हालेर नेपालको राष्ट्रियताको पहिचान स्थापित गराएकाले आफू त्यसबाट प्रेरित भएर एमाले रोजेको बताउनुभयो ।

त्यसैगरी, चैत ९ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टीका नेता शिव पटेल एमाले प्रवेश गर्नुभयो । मधेसवादी दलकै लोकप्रिय नेतालाई भित्र्याएर उम्मेदवार बनाउँदा एमालेलाई ‘मधेस मुद्दा’ समेत आफंैसँग रहेको दर्शाउन सहज हुने तर्क स्थानीय नेताहरुको छ ।

पाँच वर्षअघि ‘एमाले हौं’ भनेर खुलेर हिँड्न नसक्ने पर्सामा आज मधेस आन्दोलनको अग्रभागमा रहेका नेताहरु नै एमाले प्रवेशका लागि तछाडमछाड गरिरहेका छन् । एमाले रुपान्तरित भएको र एमालेले विकासको मुद्दा बोकेकाले आफू एमाले प्रवेश गरेको नेता पटेलले बताउनुभयो ।

स्थानीय जानकारहरूका अनुसार यसपटक वीरगञ्ज महानगरपालिकामा एमाले, कांग्रेसर जसपाकैबीचमा मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।