२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सिमरा गोल्डकको उपाधि एनआरटीले जित्यो


299
Shares

बारा । १२ औं जीतपुर सिमरा गोल्डकपको उपाधि न्युरोड टिम (एनआरटी) ले जितेको छ ।

सिमरा रंगशालामा शनिबार भएको खेलमा विभागीय टिम एपीएफलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै एनआरटीले उपाधि जितेको हो ।

एनआरटीलाई उपाधि दिलाउन मेसुके ओलोमइ र स्टेफन समिरले समान दुई दुई गोल गरे भने दीपेश घलेले एक गोल गरे ।

एनआरटीका लागि यो उपाधि सिजनकै पहिलो हो । उपाधि जितेसँगै एनआरटीले जीतपुर सिमरा गोल्डकप विजेताको सूचीमा आफूलाई उभ्याउन सफल भएको छ ।

प्रतिस्पर्धात्मक पहिलो हाफको ईन्जुरी समयमा गोलको खाता खोलेको एनआरटीले दोस्रो हाफमा चार गोल थप्दै फराकिलो जित हात पारेको हो । पहिलो हाफमा थपिएको दुई मिनेट ईन्जुरी समयमा मेसुकेले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए ।

एक गोलको अग्रतासँगै दोस्रो हाफ सुरु गरेको एनआरटीले खेलको ६० औं मिनेटमा दोस्रो थोल थप्यो । मेसुकेको क्रस बललाई सदुपयोग गर्दै दीपेश घलेले टिमका लागि दोस्रो गोल गरे । दोस्रो पटक फाईनलमा पुगेर उपविजेतामा सिमित हुन पुगेको एपीएफले सुरुवातदेखि आक्रामक खेल खेलेपनि फिनिसिङ्गमा चुकेको थियो । एपीएफ फिनिसिङ्गमा चुक्दा एनआरटी खेलमा हावी हुँदै गएको हो । खेलमा दुई गोलले अग्रता लिएको एनआरटीले ७७ औं मिनेटमा तेस्रो गोल गरेको थियो । एनआरटीका स्टेफन समिरले गोल गर्दै खेल ३–० को स्थितमा पु¥याएका थिए ।

खेलको ८१ औं मिनेटमा एनआरटीले चौथो गोल थप्दा एपीएफका समर्थक निराश बन्न पुगे । मेसुकेले टिमका चौथो र प्रतियोगितामा व्यक्तिगत पाँचौं गोल गरे । एक पछि अर्को अवसरलाई स्कोरमा परिणत गर्न सफल एनआरटीले खेलको ८९ औं मिनेटमा पाचौं गोल थप्यो । स्टेफन समिरले एनआरटीका लागि पाचौं गोल गरेका थिए । समिरको गोलसंगै एपीएफ अन्तिम भिडन्तमा लज्जास्पद हार बेहोरेको छ ।

प्रतियोगिताको बिजेता एनआरटीले १० लाख र ट्रफि प्राप्त गरेको छ भने उपविजेता बनेको एपीएफले पाँच लाख हात पारेको छ । विजेताले तथा उपविजेता टिमका खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आलेले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एनआरटीका मेसुके घोषित भए । उनले एक थान बेनेली मोटरसाईकल प्राप्त गरेका छन् । प्रतियोगिताको विधागत पुरस्कारतर्फ पनि एनआरटी हावी भयो ।

चैत्र १० गते सुरु भएको प्रतियोगितामा ए डिभिजनका पाँच र मोफसलका पाँच टिमको सहभागिता रहेको थियो ।