
भक्तपुर । कोरोना संक्रमण दर कम भएपछि भक्तपुरमा पर्यटकको संख्या बढ्न थालेको छ । नगरभित्र आउने पर्यटकको संख्या बढाउन र पर्यटकको आगमनलाई अझ चुस्त गराउन भक्तपूर नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्न थालेको छ ।
नगरपालिकाले हालै सन्ध्याकालीन र्याली गरेको छ । नगरपालिकाले केही समय अगाडिमात्र पर्यटक सूचना केन्द्र उद्घाटन गरेको छ । केन्द्रको मुख्य उद्देश्य नै भक्तपुर नगर छिर्ने पर्यटकलाई भक्तपुरको बारेमा सही र उपयुक्त सूचना प्रदान गर्ने कुरामा जोड दिनु हो ।
हाल भक्तपुरमा विश्वका सबैजसो ठाउँहरुबाट पर्यटक भित्रिने गरेका छन् । कोरोना कहरपछि भित्रिने पर्यटकहरुको संख्या २० देखि ३० प्रतिशतसम्म वृद्धि भएकाले पनि यसलाई थप टेवा दिन सूचना केन्दको आवश्यकता रहेको पर्यटक सूचना तथा सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले बताउनुभयो ।
यस्तै, भक्तपुर नगरपालिकाले पर्यटकहरुलाई आकर्षित गर्नका लागि पुराना सम्पदाहरुको पुनर्निर्माण गरिरहेको नगर प्रमुख सुनिल प्रजापतिले बताउनुभएको छ ।
नयाँ पुस्तालाई पनि आफ्नो मौलिक संस्कृतिका बारेमा जानकारी दिन नगरपालिकाले विभिन्न साँस्कृतिक कार्यक्रमहरु गर्दै आएको र कानुनकै दायरामा रहेर भक्तपुरलाई साँस्कृतिक क्षेत्र घोषणा गर्न नगरपालिका अघि बढेको नगरपालिकाका प्रमुख प्रजापतिको भनाइ छ ।
देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रले उल्लेख्य योगदान दिने भएकाले देशका सबै ठाउँका मौलिक संस्कृति र प्राकृतिक सम्पदाहरुको पहिचान गरी योजना अघि बढाउनु सरकार तथा स्थानीय तहको जिम्मेवारी हो ।
प्रतिक्रिया दिनुहोस्