
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका प्रवक्ता तथा सह–सचिव मधुप्रसाद भेटवालले मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई निजी क्षेत्रसँग पीपीए गर्न नरोकेको बताउनुभएको छ ।
सोमबार काठमाडौंको भृकुटीमण्डपमा ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’मा प्रवक्ता भेटवालले पीपीए गर्ने काम मन्त्रालयको नभएर प्राधिकरणको भएको बताउनुभएको हो ।
सह–सचिव भेटवालले प्राधिकरणले मुलुकमा विद्युतको माग र आपूर्तिको आवश्यकता अनुसार निजी क्षेत्रसँग पीपीए गर्ने बताउनुभयो ।
उत्पादन भएको विद्युत खपत गर्न सकिने अवस्था नआइ प्राधिकरणले पीपीए नगर्नु स्वाभाविक भएको उहाँले उल्लेख गर्नुभयो ।
त्यस्तै, प्रवक्ता भेटवालले विद्युत ऐन बन्न नसक्दा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन नसकिएको बताउनुभयो ।उहाँले विद्युत ऐन संसद्मा पेश भए पनि पास नभइसकेको जानकारी गराउनुभयो ।
विभिन्न प्रसारण लाइनमा अदालतमा मुद्दा परेका कारण पनि निजी क्षेत्रले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्