
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउनुपर्ने बताउनुभएको छ ।
अर्थमन्त्री शर्माले एमसीसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्सलगायत सरोकारवालासँग गर्नुभएको भर्चुअल बैठकमा परियोजना चाँडो अघि बढाउन आग्रह गर्नुभएको हो ।
अर्थमन्त्री शर्माले परियोजनाको कार्यान्वयन अवधि एक बर्ष बाँकी रहेको देखिएकाले त्यति ढिला गर्न नहुने बताउनुभयो ।
संसद्बाट अनुमोदन भएपछि एमसिसी र अर्थमन्त्री शर्माबीच पहिलो पटक बैठक भएको हो । त्यसक्रममा उहाँले एमसिसी अनुमोदन प्रक्रियामा केही समस्या देखिए पनि कार्यान्वयन चरणमा गएपछि कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता जनाउनुभयो ।
धेरै समस्या र चुनौतिका बाबजुत एमसीसी स्वीकार गर्ने निर्णय भएको भन्दै उहाँले परियोजना कार्यान्वयनमार्फत नेपालको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो ।
सो क्रममा एमसीसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्सले नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडि बढाउन परियोजनाले सघाउने बताउनुभयो ।
उहाँले एमसीसी अनुमोदनका लागि अर्थमन्त्रीले गरेको नेतृत्वका लागि धन्यवादसमेत दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्