१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्थानीय तह निर्वाचनमा आचारसंहिता पालना गर्न दलहरू प्रतिबद्ध, केही हस्ताक्षर नगरी बाहिरिए


325
Shares

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

२०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलहरूसँग निर्वाचन आयोगले मंगलबार निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउनका लागि छलफल गरेको थियो ।

छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिहरूले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्न पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

आचारसंहिता आयोगले राजनीतिक दलहरूबाट प्राप्त सल्लाह, सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै सोही आचारसंहितामा दलहरूलाई हस्ताक्षर गराइएको उहाँले जानकारी दिनुभयो ।

बैठकको प्रारम्भमा नै आचारसंहिता पालना गर्नका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न निर्वाचन आयोगले आग्रह गरेसँगै केही राजनीतिक दलहरूले छलफलविनै हस्ताक्षर गराउन लागिएको भनेर असन्तुष्टि व्यक्त गरेका थिए ।

तर, प्रमुख निर्वाचन आयुक्तले आचारसंहिताको बारेमा प्रष्ट पारेसँगै दलहरू असन्तुष्टिकै बीच हस्ताक्षर गर्न तयार भएका थिए ।

छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न नेपाली कांग्रेस पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले आफ्नो पार्टी निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्न तयार रहेको बताउनुभयो । पूर्ण रूपमा आचारसंहिता पालना गर्ने प्रतिबद्धतासहित हस्ताक्षर गरिएको उहाँले बताउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले दलहरूले दिएको सुझावलाई आचारसंहितामा नसमेटेकाले छलफलका क्रममा दलहरूले गुनासो राखेको बताउनुभयो ।

निर्वाचनको समयमा गाडी, मोटरसाइकल र्‍याली गर्ने तथा हेलिकप्टरमा चढेर चुनावी प्रचारप्रसार गर्न आचारसंहिताले नदिने भए पनि आचारसंहिता विपरीत दलहरूले त्यसो गर्ने गरेकाले आयोगले आचारसंहिता पालना गराउन ध्यान दिनुपर्ने कुरा उठेको उहाँले बताउनुभयो ।

सुवालले दलहरूबीचमा चुनावी गठबन्धन हुनु सिद्धान्त विपरीत र मतदाताको खरिदबिक्री जस्तो भएको टिप्पणी गर्नुभयो ।

नेपाल समावेशी पार्टीका अध्यक्ष मोतिलाल भारतीले निर्वाचन आयोगले साना दलहरूलाई हेपाहा प्रवृत्ति देखाएको बताउनुभयो । आयोगले गर्ने छलफलहरूमा साना दलहरूलाई सहभागि नगराउने गरेको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सभ्य बनाउनका लागि राजनीतिक दलहरूले गरेको प्रतिवद्धता कार्यान्वयन गर्न आग्रह गरेको छ ।