१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ह्वात्तै बढे मुक्तिनाथ दर्शनार्थी


130
Shares

काठमाडौं । कोरोना कहरका कारण लामो समयदेखि सुस्ताएको हिमाल पारीको जिल्ला मुक्तिनाथमा दर्शनार्थीको चहलपहल ह्वात्तै बढेको छ ।

कोरोनाका कारण दुई वर्षयता घरमै थुनिएर बस्न बाध्य सर्वसाधारण महामारी घट्दै गएपछि घुम्न एवम् दर्शन गर्न निस्कने क्रमसँगै झण्डै दुई सातायता मुक्तिनाथ पुग्नेको संख्या बढेको हो ।

सोह्र श्राद्ध र चैत कृष्ण पक्षको औंसीका दिन पारेर देशका विभिन्न स्थानका साथै भारतबाट समेत दर्शनार्थी आउने गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।

यस समयमा कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेमा पितृ मोक्ष हुने र भावी सन्ततिलाई सुख, समृद्धि हासिल हुने विश्वास रहेको छ ।

यस पटक चैत कृष्ण पक्षको औंशीमा २० हजारभन्दा बढीको संख्यामा दर्शनार्थी मुक्तिनाथ पुगेका थिए । पछिल्ला दिनमा पर्यटकको बढ्दो चापले यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

लामो समयसम्म सुनसान बनेको मुस्ताङको पर्यटनमा बढ्दो पर्यटक आगमनले आशा जगाएको ग्रिन तारा होटलका सञ्चालक सुकमन थकालीले बताउनुभयो ।

पछिल्ला दिनमा पर्यटकीय नगरी पोखराबाट दैनिक ५० भन्दा बढीको संख्यामा स्कर्पीयो जिपका साथै रिजर्भ बस मुक्तिनाथ जाने गरेको यातायात व्यवसायीले जनाएका छन् ।