१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारले भारतको दलाली गर्यो : अनेरास्ववियु

माग पूरा नभए आन्दोलनमार्फत सरकारलाई घुँडा टेकाउने चेतावनी

234
Shares

काठमाडौं । नेकपा (एमाले)को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ४ रुपैयाँमा बेचेको विद्युत् ३८ रुपैयाँमा किनेर गठबन्धन सरकारले भारतको दलाली गरिरहेको आरोप लगाएको छ ।

बुधबार अध्यक्ष सुनिता बरालले एक विज्ञप्ति जारी गर्दै सस्तोमा बेच्दै महंगोमा विद्युत् किनेर विद्युत् प्राधिकरणले नेपालको भन्दा भारतको दलाली गरिरहेको आरोप लगाउनुभयो । उहाँले सरकारले मुलुकको भन्दा छिमकेकीको हितमा रहेको व्यहोरा पुष्टि हुनेसमेत बताउनुभयो ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले गरिब, निमुखा र श्रमजिवी जनताको जीवनयापन कष्टकर भएको भन्दै अध्यक्ष बरालले देशमा कालाबजारिया, घुसखोरीहरुको विगविगी बढिरहेको ठहर गरेको छ । सेटिङमार्फत आफ्ना कार्यकर्तालाई ठेक्का दिने दलाली प्रवृत्ति दिनप्रतिदिन मौलाउँदै गएको उसको भनाइ छ ।

मुलुकको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको भन्दै अनेरास्ववियुले हुण्डी कारोबारीलाई कारबाही गर्नुको सट्टा प्रोत्साहन गरिरहेको आरोप लगाएको छ । साथै युनियनले मूल्यवृद्धि, कालोबजारी नियन्त्रण गरी देशको आर्थिक संकटलाई समाधान गर्न माग गरेको छ ।

माग पूरा नभए आन्दोलनमार्फत सरकारलाई घुँडा टेकाउने अनेरास्ववियुको चेतावनी छ ।