१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने


0
Shares

लमजुङ, चैत १० । लमजुङ जिल्लाको बेंसीशहर नगरपालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने भएको छ ।

कोराना भाइरसका सङ्क्रमण भएका वा आशङ्का भएका नगरवासीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन शुरु गर्न लागिएको नगरपालिकाले जनाएको छ ।

यतिबेला विश्वमा कोभिड–१९ को सङ्क्रमण फैलिरहेका बेला नगरमा पनि जोखिम रहेको र कुनै पनि बेला नगरवासीमा पनि सङ्क्रमण हुनसक्ने कुरालाई मध्यनजर गरेर निःशुल्क एम्बुलेन्स सेवा शुरु गर्न लागिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।

उनले भने, “नगरवासी र विशेष गरी हामीले नगरपालिको केही वडा दुर्गम भएकाले त्यहाँका नागरिकको स्वास्थ्यलाई बढी ध्यानमा राखेर केही दिनअघि एम्बुलेन्स करिब रु १० लाख बराबरको मूल्यमा खरिद गरेर सञ्चालनमा ल्याइएका छौँ ।’’

यस सङ्क्रमणको अन्त्य नभएसम्मका लागि कोरोनासम्बन्धी बिरामीलाई नेपालको जुनसुकै स्थानमा लैजानका लागि पनि निःशुल्क एम्बुलेन्स उपलब्ध हुने नगरपालिकाले जनाएको छ ।

यसबाहेक कोरोनाको रोकथामलगायतका लागि पर्याप्त बजेट छुट्याउन लागिएको नगर प्रमुख अर्यालको भनाइ छ ।

कोरोनाविरुद्ध लड्का लागि नगरवासी, पत्रकार, उद्योग व्यवसायीलगायत सबै एकजुट हुनलाई समेत उनले आग्रह गरे । कोरोनाका आशङ्का तथा सङ्क्रमित भई एम्बुलेन्स आवश्यक परेमा तुरुन्त यस एम्बुलेन्सका चालक राजु शाक्यको मोबाइल नं ९८४६९००४५९ वा सम्बन्धित निकायलाई सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ । रासस