८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


मनोमानी जग्गा नापी हुँदा ३० घरपरिवारलाई समस्या


195
Shares

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१९ स्यालापानीमा करिब ३० घर परिवार नापीको कर्मचारीको लापरवाहीका कारण समस्यामा परेका छन् ।

२०२८ सालमा मनोमानी रुपले जग्गा नापी हुँदा करिब ३० घरपरिवार समस्यामा परेका हुन् । उनीहरुको नाममा जग्गाको लालपुर्जा छ । तर, उनीहरु अरुको जग्गामा बस्न बाध्य छन् । गाउँमा करिब ६ बिगाहा जग्गाको नापीमा यस्तो समस्या देखिएको छ । कुनै लालपुर्जामा थोरै जग्गा भए पनि स्थानीय बसेको ठाउँमा भने धेरै जग्गा रहेको छ ।

जग्गामा समस्या हुँदा किनबेच तथा बैंकमा धितोसमेत राख्न नपाएको स्थानीयको गुनोसो छ । समस्या समाधानका लागि उनीहरु स्थानीय तहदेखि विभिन्न निकायसम्म गए तर अहिलेसम्म यसको समाधान भएको छैन ।

जग्गाको कित्ता नम्बर ९ ठ र ढ को नक्साङ्कन गरिएकोे जग्गामा यस्तो समस्या देखिएको हो । जग्गाको समस्या समाधान गर्ने सन्दर्भमा स्थानीयमा मतभेद देखिएपछि वडाले पनि नसकेर संवाद समुहलाई समाधान गर्न जिम्मेवारी दिएर जनप्रतिनिधि पन्छिएका छन् ।

यता विभिन्न सामाजिक विषयको समाधान गर्दै आएको संवाद समुहले भने जग्गाको समस्या समाधानका लागि आफूहरुलाई जिम्मा आएको जनाएको छ । पछिल्लो समय त्यस क्षेत्र हुँदै छिल्लीकोट र घोराही रक्षाचौरको लागि सडक कालोपत्रे हुन थालेपछि सडक वरपरका जग्गाधनीहरु समेतले चासो दिन थालेपछि खिँचलो बढ्दै गएको हो ।

धेरै पटकको प्रयासले समस्याको समाधान हुन नसकेपछि स्थानीय निराश वनेका छन् । जग्गाको न त किनवेच हुन्छ न कुनै व्यापार गर्नका लागि बैंकबाट जग्गा राखेर ऋण पाउन सकिन्छ । यी सबैबाट वञ्चित हुँदा स्थानीय सरकारको पहल कमजोर सावित भएको छ ।