
काठमाडौं, चैत्र ११ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाको परीक्षण विश्वसनीय रहेको प्रष्ट गरेको छ ।
डब्लूएचओले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय र चित्तबुझ्दो भएको प्रष्ट गरेको हो ।
नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अध्ययन गर्न डब्लूएचओले मार्च १३ देखि २१ सम्म माइक्रोबायोलोजिस्ट डाक्टर जोनाथन एस्क्रोफ्टलाई खटाएको थियो ।
डब्लुएचओले केही सुधारको सिफारिस र डाक्टर जोनाथनले तयार पारेको प्रतिवेदनसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेख्दै परीक्षणमा भर पर्न भनेको हो ।
प्रतिवेदनका अनुसार प्रयोगशालाले कोरोना भाइरसको परीक्षणमा सबै प्रक्रिया पूरा भएको भन्दै उसले ल्याब उपकरण र खटिएको जनशक्तिको प्रदर्शन पनि राम्रो रहेको जनाएको हो ।
डब्लुएचओले परीक्षण क्षमता भने विस्तार गर्न सुझाव दिएको छ । परीक्षणका सबै प्रक्रिया गुणस्तरीय रहेको र प्रयोगशालाका रिपोर्टहरु तथ्यगत हिसाबले विश्लेषण गरेको पनि डब्लूएचओको भनाइ छ।
कोभिड परीक्षणको लागि प्रयोगशालाले राम्रो तयारी गरेको बताउँदै विश्व स्वास्थ्य संगठनले सहयोग नियमित रहने प्रतिबद्धता पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्