
काठमाडौँ । काठमाडौंको केन्द्रविन्दु मानिने खुलामञ्च कुनै बेला राजनीतिक गतिविधिको कसी मानिन्थ्यो ।
नेपालमा भएका हरेक राजनीतिक आन्दोलनको उद्घोषदेखि क्रान्तिको विगुल यहीँ फुकिन्थ्यो । केही वर्षयता राजनीतिक पार्टीहरुको बैठक, सभा, सम्मेलनको थलो पार्टी प्यालेसमा सरेको छ । चुनावी मुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (शुक्रबार) शक्ति प्रदर्शन गर्ने थलो ऐतिहासिक खुल्लामञ्च रोजेको छ । सभामा सहभागीहरु जसलाई भोट दिएपनि जनताको अवस्थामा परिवर्तन नआएकोमा निरास देखिएका थिए ।
चैतको टन्टलापुर घाम । नेताहरु मञ्चमा बसेका छन् । उनीहरुका लागि चिसो तातोको व्यवस्था छ । तर नेताको भाषण सुन्न बोलाइएका कार्यकर्तालाई न बस्ने आसन छ, न गर्मी छेक्ने ओत नै । नेताहरुको आकाश र पाताल सम्याउने प्रतिवद्धता उही छ। अरु पार्टी र दलका नेता भन्दा आफूलाई उच्च र फरक देखाउने कसरत सबै पार्टीको मौलिक चरित्र भई नै हाल्यो। विडम्बना त के छ भने जुनसुकै पार्टीले गर्ने कार्यक्रममा पनि ताली पड्काउने र चुनावका दिन तोकिएको समयअघि नै लाइन लाग्ने नेपालीको चरित्र आफैंमा विचित्र छ ।
अरुबेला निरासाका अभिव्यक्ति दिएपनि उनीहरुमा चुनावी सचेतना विशिष्ट छ । नेताहरुले खुल्लामञ्च बिर्सिए कि खुल्लामञ्चले नेता बिर्सियो भन्ने अवस्था रहेकै बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरु नेतालाई मतमार्फत दिएको विश्वास सदुपयोग नभएकोमा असन्तुष्ट देखिन्थे ।
उनीहरु भन्छन– ‘आफनो जीवनमा धेरैपटक मतदान गरियो तर अहँ समस्या बीसको उन्नाईस भएन ।’ यद्यपि उनीहरुले आस भने मारिसकेका छैनन । कार्यक्रमस्थलको व्यवस्थापनमा पार्टी चुकेको देखिन्थ्यो । सीमित कुर्सीका कारण धेरै मानिस अव्यवस्थित ढंगले बस्न बाध्य थिए । राजनीतिक दलबाट वाक्क दिक्क भएकामध्ये राजतन्त्रलाई सम्झने पनि भेटिए ।
एउटा दलको व्यानरमा जिन्दावाद, मुर्दावादको नारामा समेटिए पनि आफू कुन कार्यक्रममा छु भन्ने हेक्का नभएकाको समेत कार्यक्रममा सहभागिता भएका थिए । नेता गाडीमा, जनता खाडीमा भन्ने आवाज बेला बखत सुन्दै आइएको हो । सीमित नेता मञ्चमा बसेर कार्यकर्तालाई दोस्रो दर्जाको नागरिक बनाएर बग्रेल्ती अव्यवस्थित बनाउने यो शैली लोकतन्त्रमा सुहाउने विषय होइन ।
नेताले आफ्नो कुरा सुनाउन कार्यकर्ता बोलाउँदा उनीहरुको बसउठ, खानपान जस्ता आधारभूत विषयमा ध्यान दिन जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्